टी–२० विश्वकप क्रिकेटको छनोट खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा
काठमाडौंटी–२० विश्वकप क्रिकेट २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, आदिल आलम, सुन्दिप जोरा, आरिफ शेख, ललित नारायण राजवंशी, गुल्सन झा र लोकेश बम छन् ।
वेस्ट इन्डिजसँगको सिरिज खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका छन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा छनोट प्रतियोगिताका लागि १५ खेलाडी समावेश टोली घोषणा भएको हो ।
क्यानका अनुसार साहब वैकल्पिक खेलाडीका रूपमा रहनेछन् । टी–२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ ।