एसियन कप फुटवल छनोटमा भियतनामसँग खेल्ने नेपाली टोलीको घोषणा
- काठमाडौंअखिल नेपाल फुटबल संघ एन्फाले एसियन कप फुटवल छनोटमा भियतनामसँग हुने खेलका लागि नेपालको अन्तिम टोली घोषणा गरेको छ ।
भियतनामविरुद्ध हुने होम एण्ड अवे म्याचका लागि किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरिएको हो । मुख्य प्रशिक्षक म्याट रसले प्रारम्भिक चरणको प्रशिक्षणबाट १० खेलाडी बाहिर राख्दै अन्तिम टोली चयन गरेका छन् ।
नेपालले केही समयअघि बंगलादेशविरुद्ध घरेलु मैदानमा खेलेको टोलीबाट ६ परिवर्तन गरिएको छ । एएफसी यू–२३ एसियन कप छनोट खेल्दा बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि टिममा नपरेका आयुष घलान, सुमित श्रेष्ठ र कृतिश रत्न छुन्जु सिनियर टिममा फर्किएका छन् ।
यस्तै गोलकिपर विशाल सुनार, डिफेण्डरद्वय विमल पाण्डे र सनिश श्रेष्ठले पनि पुनरागमन गरेका छन् ।
बंगलादेश विरुद्ध खेलेको टिममा रहेका गोलकिपर टिकेन्द्र थापा, डिफेण्डर अमित लामा र रनदिन पौडेल तथा फरवार्डहरु आदित्य शाक्य, समिर तामाङ र सृजन राज बाहिरिएका छन् । नेपालले भियतनामसँगको दुवै म्याच उसको मैदानमा असोज २३ र २८ मा खेल्नेछ ।