एनपीएल सिजन टुः जनकपुरको मुख्य प्रशिक्षकमा चन्द्रपाल नियुक्त
- काठमाडौंनेपाल प्रिमियर लिग एनपीएल क्रिकेटका लागि जनकपुर बोल्टसले वेस्ट इन्डिजका लेजेन्ड शिवनाराण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
साविक विजेता जनकपुरले दोस्रो सिजनको एनपीएलका लागि चन्द्रपालसँग सहकार्य गरेको जानकारी दिएको हो । ५१ वर्षीय चन्द्रपालले वेस्ट इन्डिजका लागि १ सय ६४ टेस्ट र २ सय ६८ ओडिआइ खेलेका छन् । उनले टेस्टमा ११ हजार ८ सय ६७ र ओडिआईमा ८ हजार ७ सय ७८ रन प्रहार गरेका छन् ।
टी–२० आई खेलेका चन्द्रपालले २ सय ४३ रन जोडेका थिए । उनीसँग क्यारेबियन प्रिमियर लिग सीपीएल, भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, च्याम्पियन्स लिग टी–२० र इन्डियन प्रिमियर लिगमा खेलेको अनुभव छ । जनकपुरले सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै पहिलो संस्करणको उपाधि जितेको थियो । एनपीएलको दोस्रो संस्करण आगामी मंसिरमा हुँदैछ ।