खेलकुद

शरदको कप्तानीमा हङकङ क्रिकेट सिक्सेसका लागि नेपाली टोली घोषणा

- केएफएम डेस्क काठमाडौं

हङकङ क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बरमा हुने हङकङ क्रिकेट सिक्सेस २०२५ का लागि नेपाली टोली घोषणा भएको छ । 

नेपाल क्रिकेट संघ क्यानले आज शरद भेषावकरको कप्तानीमा ७ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा शरदसँगै यसअघि कप्तानी गरेका सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान छन् । यस्तै यस प्रतियोगितामा खेलेपछि शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने पनि क्यानले जानकारी दिएको छ । हङकङ क्रिकेट सिक्सेसमा नेपाल पोल ‘ए’ मा परेको छ । यस पोलमा नेपालसँगै दक्षिण अफ्रिका र अफगानिस्तान सामेल छन् ।

 प्रतियोगिता नोभेम्बर ७ देखि ९ सम्म टिन क्वोङ रोड रिक्रिएसन ग्राउन्डमा आयोजना हुनेछ । सहभागि १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । पोल ‘बी’मा अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र यूएई छन् । पोल ‘सी’मा भारत, पाकिस्तान र कुवेत तथा पोल ‘डी’मा श्रीलंका, बंगलादेश र हङकङ सामेल छन् ।

 प्रतियोगिताको हरेक खेल ६–६ ओभरको हुनेछ भने एक टिममा ६ खेलाडी खेल्न पाउनेछन् । एक इनिङमा चार खेलाडीले बढीमा १ ओभर बलिङ गर्न पाउनेछन् भने एक खेलाडीले २ ओभर बलिङ गर्न पाउँछन् । सन् १९९३ देखि सुरु भएको हङकङ सिक्सेस प्रतियोगिता पछिल्लो पटक सन् २०२४ मा आयोजना भएको थियो । सो प्रतियोगिताको उपाधि श्रीलंकाले उपाधि जितेको थियो ।