विश्वकप लिग 'टू' मा नेपाल अमेरिकासँग पराजित
काठमाडौंनेपाल आईसीसी क्रिकेट विश्वकप लिग 'टू'अन्तर्गत अमेरिका विरुद्धको खेलमा पराजित भएको छ । संयुक्त अरब इमिरेट्स युएईको दुबईमा भएको पहिलो खेलमा नेपाल अमेरिकासँग १ सय ६ रनले पराजित भएको हो । स्पीनर हर्मित सिंहले सानदार बलिङ गर्दै ६ विकेट लिएपछि अमेरिकाले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर १ बलमा १ सय ५६ रन बनाउँदै अलआउट भयो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए भने आसिफ शेखले ३७ तथा भिम शार्कीले २९ रन जोडे । आरिफ शेखले २० रन बनाए । अमेरिकाका हर्मित सिंहले ८ ओभर १ बलमा १ मेडन राख्दै २७ रन खर्चेर ६ विकेट लिए ।
त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ७५ रन बनाए । एकसय बल खेलेका पटेलले ९ चौका प्रहार गरे । नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।