जेरार्ड एरास्मसले यसपटक पनि काठमाडौं गोर्खाजबाटै एनपीएल खेल्ने
- काठमाडौंकाठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो संस्करणका लागि नामिबियाका कप्तान जेरार्ड एरास्मसलाई अनुबन्ध गरेको छ ।
गोर्खाजले दोस्रो विदेशी खेलाडीको रुपमा जेरार्डलाई टिममा सामेल गरेको हो । गत संस्करण गोर्खाजको उपकप्तानको जिम्मेवारीमा रहेका जेरार्डले ७ खेलबाट १ सय १० रन बनाउनुका साथै ११ विकेट लिएका थिए ।
सन् २०२३ र २०२४ मा आईसीसी पुरुष एसोसिएट क्रिकेटर अफ द इयर अवार्ड जितेका ३० वर्षे जेरार्डले नामिबियाबाट ७७ टी–२० आईको ७३ इनिङ्समा १ शतक र १३ अर्धशतकसहित १८ सय ३३ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा २ शतक र १७ अर्धशतकका साथ २१ सय ७८ रन प्रहार गरेका छन् । गोर्खाजले यसअघि नै दक्षिण अफ्रिकीका रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरिसकेको छ ।
दक्षिण अफ्रिकाका फास्ट बलर पार्नेल जनकपुर बोल्ट्समा अनुबन्ध
जनकपुर बोल्ट्सले दोस्रो सिजनको एनपिएलका लागि दक्षिण अफ्रिकाका फास्ट बलर वायने पार्नेल लाई अनुबन्ध गरेको छ ।
देब्रेहाते ३६ वर्षे पार्नेलले दक्षिण अफ्रिकाबाट ६ टेस्ट, ७३ एकदिवसीय अन्तर्राष्ट्रिय र ५६ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । उनले सन् २००६ मा श्रीलंकामा भएको आईसीसी यु–१९ विश्वकप खेलेका थिए भने त्यसको २ वर्षपछि मलेसियामा भएको यु–१९ विश्वकपमा दक्षिण अफ्रिकाको कप्तानी गरेका थिए ।
पार्नेलले इन्डियन प्रिमियर लिगमा दिल्ली डेरडेभिल्स र रोयल च्यालेन्जर बेङलोरबाट खेलिसकेका छन् । दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ देखि २७ गतेसम्म हुँदैछ ।