खेलकुद

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक म्याट रसले दिए राजीनामा

काठमाडौं

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक म्याट रसले राजीनामा दिनुभएको छ । एशियन कपको छनोट चरणबाटै बाहिरिएको नेपालले पाँचौ खेल खेल्नुअघि प्रशिक्षकको राजीनामा आएको हो । नेपालले आगामी मंसिर २ गते मलेसियाविरुद्ध खेल खेल्दैछ ।

गत फागुनमा प्रशिक्षक नियुक्त भएका रसको कार्यकाल १ वर्षको थियो । भियतनामविरुद्धको दुबै खेल गुमाए लगत्तै प्रशिक्षकको राजीनामा आएको थियो । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईले प्रशिक्षक रसको राजीनामा आएको पुष्टि गर्नुभयो । मलेसियाविरुद्धको खेलका लागि अन्तरिम प्रशिक्षकको व्यस्था गरिने एन्फाले जनाएको छ ।

नेपालले रसको प्रशिक्षणमा खेलेको ७ खेलमा २ बराबरी, ४ हार र एउटामा जित हात पारेको थियो । नेपालले रसको प्रशिक्षणमा सिंगापुरलाई उसकै मैदानमा पराजित गरेको थियो ।

यसैबीच, एन्फा पदाधिकारी र नवनियुक्त खेलकुद मन्त्री बब्लु गुप्ताबीच आज छलफल हुँदैछ । पछिल्लो समय एन्फाले महिला टोलीको भारत भ्रमणमा देखाएको कमजोर व्यवस्थापनलाई लिएर मन्त्री गुप्ताले महासचिव राईसँग टेलिफोन सम्वाद गर्नु भएको थियो । एन्फाको आन्तरिक समस्याका कारण लामो सयमदेखि हुन नसकेको लिगका बारेमा पनि छलफल हुने बुझिएको छ ।

मन्त्रीसँगको छलफल लगत्तै दिउँसो १ बजे ए डिभिजन क्लव, एन्फा र मन्त्रीबीच संयुक्त छलफल हुँदैछ । शहिद स्मारक ए डिभिजन लिगका बारेमा मन्त्रालयमा छलफल गर्ने भनेर एन्फाले क्लवहरुलाई पत्राचार गरेको छ । तर, हिमालयन शेर्पा क्लवका अध्यक्ष एवं एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाले मन्त्रालयमा राखिएको छलफलको विरोध गर्नुभएको छ । उहाँले कुन ऐन, नियम, कार्यविधि र निर्देशिकालाई टेकेर बैठक मन्त्रालयमा डाकिएको हो भनी प्रश्न गर्नु भएको छ । साथै, उहाँले एन्फाको कार्यालय नै मन्त्रालयमा सार्न सुझाव दिनु भएको छ ।