खेलकुद

एनपीएलमा काठमाडुको विजयी सुरुवात, जनकपुर ५ विकेटले पराजित

- केएफएम डेस्क काठमाडौं

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटमा काठमाडु गोर्खाजले विजयी सुरुवात गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा गोर्खाजले साविक विजेता टोली जनकपुर बोल्ड्समाथि ५ विकेटको जित निकालेको हो । 

काठमाडुले टस जितेर पहिले फिल्डीङ रोजेपछि ब्याटिङको निम्तो पाएको जनकपुरले दिएको १ सय ३१ रनको मध्यम लक्ष्य काठमाडुले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । काठमाडुको जितमा वेन थाल्र्सवर्थले सवाधिक ४६ रन बनाए । २३ बल मात्र खेलेका उनले ३ छक्का र ५ चौका प्रहार गरे । यस्तै ४५ बलको सामना गरेका आकाश त्रिपाठीले ३९ रनको योगदान गरे ।

८ जनालाई बलिङ लाइनमा उतारेको जनकपुरका लागि अनिल शाह, किशोर महतो, ललित राजवंशी तथा विदेशी खेलाडीहरु जन निकोल लफ्टी इटन र सञ्जय कृष्णमुर्तीले १–१ विकेट लिए । त्यसअघि सुरुवाती ब्याटिङ गरेको जनकपुरका लागि आशिफ शेखले ५४ र मयन यादवले नटआउट ३४ रन बनाउँदा अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । जनकपुरलाई सस्तैमा समेट्ने क्रममा विदेशी खेलाडी मिलिन्द कुमारले ३ विकेट लिँदा करन केसी, शाहब आलम र सन्तोष यादवले समान १–१ विकेट लिए ।

आजको खेलको नतिजापछि काठमाडुले २ अंक जोडेको छ । लिग अन्तर्गत अब भोलि हुने खेलमा मध्यान्ह पौने १२ बजे चितवन राइनोज र कर्णाली याक्स तथा अपरान्ह ४ बजे हुने खेलमा बिराटनगर किङ्ग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।