एनपीएल क्रिकेटमा सुदूरपश्चिमको लगातार चौथो जित
- काठमाडौंसुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा लगातार चौंथो जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिनको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो ।
लुम्बिनीले दिएको १ सय ४४ रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमका विनोद भण्डारी ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६९ रनमा नटआउट रहे ।
यस्तै, आसिफ शेख ३९ र क्रिस लिनले १६ रन जोडे । त्यसअघि लुम्बिनीले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४३ रन बनाएको थियो । लुम्बिनीका कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रन जोडे । सुदूरका हर्मीत सिंह र अविनास बोहोराले समान ३÷३ विकेट लिए । जितपछि सुदूरपश्चिम ८ अंकसहित शीर्ष स्थानमा छ । २ अंक जोडेको लुम्बिनी अंकतालिकाको छैंटौं स्थानमा छ ।