महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक
- काठमाडौंनेपालमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह ‘बी’ मा परेको छ । यो समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे छन् ।
यस्तै, समूह ‘ए’ मा बंगालदेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् ।
नेपालले माघ ४ मा थाइल्यान्डसँग खेल्दै ग्लोबल छनोटको यात्रा सुरु गर्ने छ । नेपाल पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो ।
प्रतियोगितामा दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुगनेछन् । सुपर सिक्सबाट शीर्ष ४ टोली सन् २०२६ मा हुने महिला टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।
नेपालसहित १० टोली सहभागी प्रतियोगिता अन्तर्गतका खेलहरु पुस ३० देखि माघ १८ गतेसम्म मुलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।
यसअघि पुस ३० र माघ २ मा वार्म अप म्याचहरु हुनेछन् ।
यसैबीच, नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली टोली विश्वकपमा छनोट हुनेमा आशावादी रहेको बताएका छन् ।
क्यानले आज आयोजना गरेको प्रशिक्षकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महिला टोलीलाई यसअघि विपक्षीका रुपमा पनि राम्रोसँग हेरेको बताउँदै विश्वकपमा छनोट हुने बताएका हुन् ।
पाठकले नेपालको कन्डिशन राम्रो क्रिकेट खेल्नेका लागि उत्कृष्ट रहेको समेत बताए । पाठकसँग क्यानले हाल दुई वर्षका लागि सम्झौता गरेको जनरल म्यानेजर विनोद दासले जानकारी दिए ।
क्यानले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटलाई लक्षित गरेर पहिलोपटक विदेशी मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।