खेलकुद

टाइगर कप भलिबल आगामी माघमा

- दीपक परियारपोखरा

पोखरामा हुने छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी माघमा हुने भएको छ । 

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने च्याम्पियनसिप माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा हुनेछ ।

प्रतियोगितामा महिला र पुरुषतर्फ गरी १४ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । महिलातर्फ थाइल्यान्डको युनाइटेड प्यासन भलिबल क्लब र वाइल्ड क्विन्ससँगै नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिप टप न्यू डायमन्ड युथ स्पोट्र्स क्लब र रुपन्देहीको एभरेस्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

यस्तै, पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स भलिबल एसोसिएसन र भारतको गुजरात भलिबल क्लब सहभागी हुनेछन् । 

यसपटक गत वर्षको तुलनामा पुरस्कार राशिमा वृद्धि गरिएको छ । 

महिला पुरुष दुवैतर्फका विजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ तथा उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

यस्तै, तेस्रो हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्दा, सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६ सय ६६ रुपैयाँ र विधागततर्फ उत्कृष्ट खेलाडीले जनही ११ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्नेछ ।