महिलातर्फ एपीएफ सेमिफाइनलमा प्रवेश, पुरुषतर्फ पुलिस र हेल्प नेपाल क्वार्टरफाइनलमा
- काठमाडौंविभागीय टोली नेपाल एपीएफ क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज सम्पन्न समूह ‘बी’ को खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।
एपीएफले सुदूरपश्चिमलाई २५–६, २५–११ र २५–१२ को सेटमा हरायो । जितसँगै एपिएफले ६ अंक जोडेको छ । एपीएफले अब समूह विजेता बन्न अन्तिम खेल पुलिससँग खेल्ने छ ।
यसअघि महिलातर्फ आजै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।
आर्मीले चुलीलाई २५–१६, २५–१२ र २५–९ ले हराउँदै लागतार दोस्रो जित हात पारेको हो ।
पुरुषतर्फ लगातार दोस्रो जित निकाल्दै नेपाल पुलिस क्लब र साबिक विजेता हेल्प नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
समूह ‘बी’को खेलमा खिल्जी युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
पुलिसले खिल्जीलाई २५–२१, २५–१६ र २५–१६ को सेटमा हरायो । पुलिसले सेमिफाइनल प्रवेश गर्न अब समूह ‘डी’ को उपविजेतासँग खेल्नेछ ।
‘ए’को खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले अन्तिम ८ मा स्थान बनाएको छ ।
हेल्प नेपालले मणिमुकुन्दलाई २५–१६, २५–१९ र २५–२२ ले हरायो । अब हेल्प नेपालले सेमिफाइनल पुग्न समूह ‘डी’ को उपविजेतासँग खेल्नेछ ।