खेलकुद

अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग पराजित

- केएफएम डेस्ककाठमाडौं

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघि भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा स्कटल्यान्डले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन मात्र बनाउन सक्यो ।

 नेपालका लागि सम्झना खड्काले सर्वाधिक ५२ रन बनाइन् । कविता कुँवरले २९, कप्तान इन्दु बर्माले २८ र कविता जोशीले २२ रन जोडिन् । 

स्कटल्यान्डका लागि डार्शी कार्टरले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिइन् । 

क्याथरिन ब्रिस, ओलिभिया बेल र चोल अबेलले समान १÷१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।

 उसका लागि ब्रिसले २८ बलमा अविजित ६२ रन बनाएर बनाइन् । नेपालका लागि रुबिना क्षेत्री र कविता कुँवरले २÷२ विकेट लिइन् । 

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अर्को साता नेपालमा आयोजना हुँदैछ ।