खेलकुद

ग्लोबल छनोटमा नेपालको दोस्रो हार

- केएफएम डेस्ककाठमाडौं

नेदरल्यान्ड्स काठमाडौंमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा प्रवेश गरेको छ ।

नेदरल्यान्ड्सले आज भएको समुह बी को खेलमा नेपाललाई २ रनले हराउँदै लगातार तेस्रो जित हात पार्दै अर्को चरणको यात्रा पक्का गरेको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले निर्धारित ओभरमा ५ विकेट गुमाई १ सय ४० रन बनाएको थियो । 

जवाफमा आएको नेपालले ७ विकेट गुमाई १ सय ३८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा नेपाललाई जितका लागि १३ रन चाहिने अवस्थामा नेपालले ११ रन मात्र बनाउन सक्यो ।

अन्तिम बलमा छक्का प्रहार गरेको भए स्कोर बराबर हुने थियो, तर रुविनाले ४ रनमात्र प्रहार गर्न सकेकी थिइन् । 

रुविनाले ३२ बलमा अविजित ३७ रन बनाइन् । 

सो क्रममा उनी नेपालबाट महिला टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन बनाउने नेपालको दोस्रो खेलाडी बनिन् । 

यसअघि कप्तान इन्दु बर्माले नेपालबाट १ हजार रन बनाइसकेकी छन् । 

यस्तै, सीताले २७ रन जोडिन् । 

नेपालको यो लगातार दोस्रो हार हो । अघिल्लो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो । 

नेपालले अब जनवरी २४ मा जिम्बावेसँग खेल्नेछ ।