आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालको पहिलो जित
काठमाडौंनेपाल काठमाडौंमा जारी आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टेस्ट मुलुक जिम्बावेमाथि ६ विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा पुग्ने सम्भावना कायमै राखेको छ ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्दै जिम्बावेले दिएको १ सय ३० रनको लक्ष्य नेपालले निर्धारित ओभर सकिनुभन्दा ३ बल अघि नै ४ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालको जितमा पूजा महतोले नट आउट रहँदै ५२ रनको अर्धसशतकिय इनिङ्स खेलिन्् । यस्तै इन्दु बर्माले २२, विन्दु रावलले १५ र सीता रानामगरले ११ रन बनाइन् ।
आजको खेलको नतिजा पछि समूह बीमा रहेको नेपालले ३ खेलबाट २ अंक बनाएको छ । पराजित भएको जिम्बावेले भने ४ खेल खेलेपनि अंक जोड्न सकेको छैन । अब नेपालले समूहचरणको अन्तिम खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो ।
समूह बी मा रहेको नेदरल्याण्ड्सले भने अहिलेसम्म लगातार तीन खेल जितेर सुपर सिक्स चरणमा पुगिसकेको छ । दुई खेलबाट चार अंक जोडेको थाइल्यान्ड तालिकाको दोस्रो स्थानमा छ । दुई खेलबाट दुई अंक हात पारेको स्कटल्यान्ड भने तालिकाको तेस्रो स्थानमा छ ।