सूर्य नेपाल मिथिला नगरीमा हुँदै
काठमाडौंसूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप भोलिदेखि बर्दिबासस्थित नवनिर्मित मिथिला नगरी आर्मी गल्फ क्लबमा सुरु हुँदैछ । मधेस प्रदेशमा सूर्य नेपाल गल्फ टुरको कुनैपनि प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो ।
नवनिर्मित यो गल्फ क्लबमा पहिलो पटक प्रो खेलाडीहरू प्रतिस्पर्धामा उत्रदैछन् । नेपाल नम्बर एक प्रो गल्फर तथा अघिल्लो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनका विजेता निरज तामाङ प्रमुख दाबेदारका रूपमा रहेका छन् ।
साथै भुवन नगरकोटी, धन थापा, दिनेश प्रजापति र जयाराम श्रेष्ठ पनि उपाधि दाबेदारको सूचीमा छन् । तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ । जहाँ ३१ प्रोफेसनल गल्फर र ह्यान्डिक्याप ५ वा सोभन्दा कम भएका ६ एमेच्योर गल्फरले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन् । ३६ होलको सामप्तीपछि कट लागु हुनेछ ।
शीर्ष १८ प्रोफेसनल र एमेच्योर खेलाडी फाइनल राउन्डमा प्रवेश गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः १ लाख २५ हजार र १ लाख रुपैयाँ हात पार्नेछन्। शीर्ष १८ स्थानभित्र पर्ने खेलाडीहरू पुरस्कारको हकदार बन्नेछन् । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन् ।