राष्ट्रिय लिग:मनाङ र पुलिसको जित
काठमाडौंनेपाल पुलिस क्लबले राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले श्री भगवतीलाई १–० ले पराजित गरेको हो ।
पुलिसलाई जित दिलाउन ३७ औं मिनेटमा विश्वास चौधरीले गरेको गोल निर्णायक बन्यो । प्रतियोगिताको चौथो चरण आइपुग्दा पुलिसले पहिलो पटक तीन अंक बटुलेको हो ।
पुलिस यसअघि दुई खेलमा पराजित रहेको थियो र एक खेल बराबरीमा टुंगेको थियो । जितसँगै पुलिसको चार अंक भएको छ । श्री भगवतीको पनि चार अंक नै छ ।
यसअघि आजै भएको खेलमा काँक्रेविहार युथ क्लबलाई ५–१ ले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लबले पहिलो जित निकालेको छ । लगातार तीन हार ब्यहोरेको मनाङले तीन अंक बटुल्न सफल भएको हो । काँक्रेविहारको भने यो लगातार चौथो हार हो ।