राष्ट्रिय लिगमा आर्मीको तेस्रो जित
- काठमाडौंराष्ट्रिय लिग फुटबलअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले श्री भगवती क्लबलाई ३–१ गोलले हराएको छ ।
काठमाडौंको त्रिपुश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले श्री भगवतीविरुद्ध पुनरागमन जित हासिल गरेको हो ।
आर्मीको जितमा नवयुग श्रेष्ठले २ तथा जिलेस्पीजंग कार्कीले १ गोल गरे । जितसँगै आर्मीले प्रतियोगितामा तेस्रो जित दर्ता गर्दै ५ खेलबाट ११ अंक जोडेको छ ।
उ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । श्री भगवतीको भने यो तेस्रो हार हो । समान खेलबाट ४ अंक मात्र जोडेको श्री भगवती ११औँ स्थानमा छ ।
यसअघि भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेडले काँक्रेविहार युथ क्लबलाई ३–० ले पराजित गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा प्लानिङको जितमा सविन बोहरा, रोमन भुजेल र हेमन लिम्बुले एक–एक गोल गरे ।
पहिलो हाफमा २–० ले अगाडि रहेको प्लानिङ ब्वाइजले दोस्रो हाफको इन्जुरी समयमा थप एक गोल गर्यो । योसँगै लिगमा तेस्रो जित निकालेको प्लानिङले ५ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा छ ।
लगातार पाँचौं हार बेहोरेको काँक्रेविहार पुछारमा छ ।
लिगअन्तर्गतको अर्को खेलमा अहिले फ्रेन्ड्स क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।