टी–२० विश्वकप : स्कटल्याण्ड र जिम्बावेको जित
काठमाडौंभारतमा जारी पुरुष टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको समूह ‘सी’ को खेलमा स्कटल्यान्डले इटलीमाथि सहज जित हासिल गरेको छ ।
कोलकातास्थित इडेन गार्डेन्स मैदानमा भएको खेलमा स्कटल्यान्डले इटलीमाथि ७३ रनको फराकिलो जित हासिल गरेको हो । स्कटल्यान्डले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको इटली १६ ओभर ४ बलमा १ सय ३४ रनमा अलआउट भयो ।
त्यसअघि इटालीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । नेपाल रहेको समूह ‘सी’ मा स्कटल्यान्डले पनि अंकको खाता खोलेको छ ।
यस समूहमा इंग्ल्यान्डले नेपाललाई र वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराएर २–२ अंक जोडिसकेका छन् । यसैबीच, समुह बी को खेलमा जिम्बावेले ओमानलाई ८ विकेटले हराएको छ । ओमानले दिएको १ सय ४ रनको लक्ष्य जिम्बावेले १३ ओभर ३ बलमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।