खेलकुद

इटलीसँग नेपाल पराजित

काठमाडौं

पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ । मुम्बईको वानखडे स्टेडियममा नेपालले दिएको १ सय २४ रनको लक्ष्य इटलीले १२ ओभर ४ बलमा पूरा गर्दै जित हात पारेको हो । इटालीको जितमा एन्थोनी मोस्का र जस्टिम मोस्काले उत्कृष्ट ब्याटिङ गर्दै शतकिय साझेदारी गरे । मोस्का दाजुभाईले ६ ओभरको पावर प्लेमै ६८ रन बनाउँदै इटलीको जितको आधार बनाएका थिए । दुवैले ११ औं ओभरमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।

 त्यसअघि इटालीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर ३ बलमा १ सय २३ रनमा अलआउट भएको थियो । नेपालका आरिफ शेख २७, कप्तान रोहितकुमार पौडेल २३ र आसिफ शेखले २० रन जोडे । ओपनर कुशल भुर्तेल र पहिलो खेलमा इंग्ल्याण्ड विरुद्ध आक्रमक ब्याटिङ गरेका लोकेश बम इटलीविरुद्ध चल्न सकेनन् । समूह सी मा रहेको नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा दुई पटकको विश्व विजेता इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित भएको थियो । 

लगातार दुई हारपछि अंकविहिन नेपालको सुपर एट सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा स्कटल्याण्डविरुद्ध पराजित भएको इटलीले भने टी–२० विश्वकपमा आफ्नो पहिलो जित हात पारेको हो । नेपालले अब समुहको आफ्नो तेस्रो खेल आगामी आइतबार वेस्ट इन्डिजविरुद्ध खेल्नेछ ।