राष्ट्रिय लिग फुटबलका खेलहरु आजदेखि फेरि सुरु
काठमाडौंघरेलु प्रतियोगिताका लागि स्थगित भएको राष्ट्रिय लिग फुटबलका खेलहरु आजदेखि फेरि सुरु भएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा न्युरोड टिम एनआरटी र मनाङ मस्र्याङ्दी क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
यसअघि, भएको पहिलो खेलमा विभागीय टोली एपीएफ क्लबले बाराको नव जनजागृति क्लबलाई ४–१ गोलले पराजित गर्यो । एपिएफको जितमा कप्तान हरि कार्की, युवराज थापा, समिराज थोकर र अनिश घर्तीले समान एक÷एक गोल गरे ।
नव जनजागृतिका लागि निश्चल थापाले एक गोल गरे । यो जितसँगै एपीएफले ६ खेलबाट १६ अंक जोडेको छ । नव जनजागृति अंकविहीन बन्दै तालिकाको पुच्छरमा छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा जारी लिगमा ए डिभिजनका १३ र एन्फा प्रेसिडेन्टका शीर्ष चार गरी १७ क्लब सहभागी छन् ।