खेलकुद

विश्वकपको सुपर एटमा भारत पराजित

- केएफएम डेस्ककाठमाडौं

आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको सुपर एट अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले भारतमाथि शानदार जित हासिल गरेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले पराजित गरेको हो ।

योसँगै भारतको अपराजित यात्रा समेत तोडिएको छ ।

भारत सन् २०२४ को टी–२० विश्वकपमा पहिलो खेलदेखि यो खेलसम्म टी–२० फम्र्याटमा भएका बहुराष्ट्र प्रतियोगितामा अपराजित रहेको थियो ।

दक्षिण अफ्रिकाले भने गत संस्करणको फाइनलमा बेहोरेको हारको बदला लिएको छ ।

दक्षिण अफ्रिकाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको भारतले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो ।

भारतका लागि शिवम दुबेले सर्वाधिक ४२ रन जोडे । दक्षिण अफ्रिकाका मार्को यानसेनले ३ ओभर ५ बलमा २२ रन दिएर ४ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले डेभिड मिलरको अर्धशतकमा निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । मिलरले ३५ बलमा ७ चौका र ३ छक्कासहित ६३ रन बनाए ।

भारतका लागि जसप्रित बुमराहले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिए । जितसँगै सुपर एटको समूह १ मा दक्षिण अफ्रिकाले २ अंक जोडेको छ ।

यो समूहमा आज जिम्बाबे र वेस्ट इन्डिज भिड्ने छन् । सो खेल साँझ सवा ७ बजे हुनेछ ।