खेलकुद

सावित्रा भण्डारीलाई उपचारका लागि डेढ करोड संकलन

काठमाडौं

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले उपचारका लागि लाग्ने खर्च जुटेको बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत उपचारका लागि आवश्यक खर्च प्राप्त भइसकेको बताएकी हुन् । 

साम्बाले नेपाली खातामा एक करोडभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ जम्मा भएको बताइन् । सो रकम कतारमा उपचारका लागि र त्यसको दौरानमा लाग्ने आवास र यातायातमा पनि पुग्ने भएकाले अब सहयोग नगर्न उनले आग्रह गरेकी छन् ।

साम्बाले आफ्नो उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै आर्थिक सहयोग गर्न हिजो सामाजिक सञ्जालमार्फत अपिल गरेकी थिइन् । 

साम्बाको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट भएकाले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने भएको छ । सहयोगका लागि उनले सबैप्रति धन्यवाद पनि दिएकी छन् ।