खेलकुद

टी–२० विश्वकपमा आज श्रीलंका र पाकिस्तान भिड्ने

- केएफएम डेस्ककाठमाडौं

आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर एटको समुह २ को अन्तिम खेलमा आज श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल श्रीलंकाको पल्लेकेलेस्थित रंगशालामा नेपाली समयानुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

पाकिस्तानलाई सेमिफाइनल पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । 

पाकिस्तान रनरेटमा न्युजिल्यान्ड भन्दा पछि छ, त्यसैले उसले आजको खेल ठूलो अन्तरले जिते मात्र अन्तिम चारमा प्रवेश पाउँछ । 

सहआयोजक श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ । यस समुहबाट इंग्ल्यान्डले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ । 

हिजो भएको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि ४ विकेटको रोमाञ्चक जित हात पार्यो । इंग्ल्यान्डले अब समूह २ को विजेताका रूपमा सेमिफाइनल खेल्नेछ । 

पाकिस्तानको २ खेलबाट १ अंक छ । न्युजिल्यान्डको ३ अंक छ भने इंग्ल्यान्डको ६ अंक छ ।