खेलकुद

राष्ट्रिय लिग फुटवलमा पुलिस क्लव र एपीएफबीच बराबरी

काठमाडौं

एन्फा राष्ट्रिय लिग फुटवलमा आज नेपाल पुलिस र एपीएफबीच २–२ गोलको बराबरी भएको छ । एपीएफले दुई पटक अग्रता लिएपनि जित हात पार्न सकेन । एपीएफले १० औं मिनेटमा प्रदीप लामाको गोलले अग्रता लिएको थियो । पुलिसका शिशिर चौधरीले २७ औं मिनेटमा बराबरी गोल फर्काए । 

प्रदीपले ६१ औं मिनेटमा एपीएफका लागि दोस्रो गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । तर ओशेन्द्र कटुवालले ८८ औं मिनेटमा पुलिसका लागि बराबरी गोल गरेका थिए । 

एपीएफ ८ खेलबाट २० अंकमा लिग तालिकाको शीर्ष स्थानमा छ । पुलिस भने ८ खेलबाट ८ अंकमा सीमित छ । अर्को खेलमा श्री भगवतीले काँक्रेविहारमाथि ६–० गोल अन्तरमा सहज जित हात पारेको छ । 

उसको जितमा सुजन डंगोलले तीन गोल गरेका थिए । जितपछि श्री भगवतीको ८ खेलबाट ८ अंक भएको छ । काँक्रेविहार भने ८ खेलबाट १ अंकमै सीमित छ ।