चित्लाङले एपिएफलाई बराबरीमा रोक्यो
- काठमाडौंचित्लाङ एफसीले राष्ट्रिय लिग फुटबलमा एपिएफ क्लबलाई बराबरीमा रोकेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन् । बराबरीसँगै एपिएफले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।
११औं खेल सकिँदा एपिएफ २५ अंकका साथ दोस्रो स्थानमा छ । समान अंकका बावजुद मछिन्द्र गोल अन्तरमा अघि छ ।
यद्यपि मछिन्द्रले एक खेल कम खेलेको छ । यो नतिजासँगै चित्लाङले १२ खेलमा ८ अंक जोडेको छ ।
यसअघि आजै सम्पन्न पहिलो खेलमा जावलाखेल युथ क्लबले सुर्खेतको कांक्रेविहार क्लबलाई ४–१ ले पराजित गरेको छ ।
एन्फा मैदानमा भएको खेलमा कांक्रेविहारले अग्रता लिएपनि जावलाखेलले पुनरागमन जित हासिल गरेको हो ।
जावलाखेलको जितमा निकोलस ह्यामिल्टनले २ तथा बाउबाकर सिसिखो र बिकास दर्लामी मगरले एक/एक गोल गरे ।
कांक्रेविहारका लागि दिपेन्द्र चुनाराले एक गोल गरे । तेस्रो जित हात पारेको जावलाखेल १० खेलबाट १३ अंक जोड्दै आठौं स्थानमा उक्लेको छ ।
जारी लिगमा नवौँ हार व्यहोरेको कांक्रेविहारको १ अंक मात्र छ । उ १६औं स्थानमा छ ।