खेलकुद

पीएम कप क्रिकेटमा सुदूर र लुम्बिनीको जित

- केएफएम डेस्ककाठमाडौं

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । वीरगञ्जको नारायाणी क्रिकेट मैदानमा आज सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४ विकेटले हरायो ।

कर्णालीले दिएको १ सय २० रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर २ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

सुदूरको जितमा किरण ठगुन्नाले सर्वाधिक २६ रन जोडे । मिलन बोहरा १८ र शेर मल्ल १० रनमा नटआउट रहे । कर्णालीका अनुज चनारा र दिवान पुनले २÷२ विकेट लिए । 

त्यसअघि सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले ३२ ओभरमा अलआउट हुँदै १ सय १९ रन बनाएको थियो ।

जितसँगै सुदूरपश्चिमले २ अंक जोडेको छ । 

यसैबीच, जनकपुरस्थित बहुउदेश्यीय मैदानमा आजै भएको अर्को खेलमा लुम्बिनीले कोशी प्रदेशलाई १ सय ४८ रनले हरायो । लुम्बिनीले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको कोशीले ३१ ओभर ४ बलमा अलआउट हुँदै १ सय १ रन मात्रै बनाउन सक्यो । 

उसका लागि अंकित सुवेदीले सर्वाधिक ३० रन जोडे । लुम्बिनीका सन्तोष यादवले ४ तथा राजेन्द्र बलमे ३ विकेट लिए । 

त्यसअघि कोशीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ४९ रन बनाएको थियो । 

लुम्बिनीका लागि देव खनालले ९२ रनको अर्धशतकिय इनिङ्स खेले । कोशीका सुजन थपलियाले ४ विकेट लिए । 

जितसँगै कोशीले २ अंक जोडेको छ । 

प्रतियोगिताअन्तर्गत भोली हुने खेलमा बागमती प्रदेश र गण्डकी प्रदेश तथा एपीएफ क्लब र नेपाल पुलिस क्लबबचि प्रतिस्पर्धा हुनेछ ।