राखेपले एन्फालाई स्पष्टीकरण सोध्यो
- काठमाडौंराष्ट्रिय खेलकुद परिषद् राखेपले अखिल नेपाल फुटबल संघ एन्फालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
एन्फाले प्रचलित कानुन विपरीत निर्वाचन प्रक्रिया अघि बढाएको आरोप लगाउँदै राखेपले यस्तो निर्देशन दिएको हो । राखेपले पठाएको पत्रमा एन्फाले आवश्यक समन्वय नगरी तथा स्वीकृति नलिई साधारण सभा र निर्वाचनको तालिका सार्वजनिक गरेको उल्लेख गरिएको छ ।
यसअघि पनि राखेपले गत फागुन २५ गते पत्र पठाउँदै कानुनी प्रक्रिया पूरा नभएसम्म साधारण सभा र निर्वाचन स्थगित गर्न भनेको थियो । राखेपले युवा तथा खेलकुद मन्त्रालयको राय र मन्त्रीस्तरीय निर्णयका आधारमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ अनुसार निर्देशन दिएको जनाएको छ ।
तर एन्फाले त्यसको पूर्ण पालना नगरेको राखेपको भनाइ छ ।
एन्फाले भने अन्तर्राष्ट्रिय निकाय फिफा र एएफसीको निर्देशनलाई आधार मानेर निर्वाचन स्थगित गर्न नसकिने जवाफ दिएको छ ।
यसबीच एन्फा तोकिएकै मितिमा निर्वाचन गर्ने तयारीमा रहेको छ ।
एन्फाले सूचना प्रकाशित गर्दै आगामी शुक्रबार निर्वाचन हुने दिन सचिवालय बन्द रहने जनाएको छ । राखेपको कार्यकारी समितिको बैठकले ऐनको दफा २९ अनुसार थप प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
साथै, एन्फामाथि कारबाही किन नगर्ने भन्ने विषयमा पनि स्पष्टीकरण मागिएको छ ।