खेलकुद

पीएम कपमा पुलिस र बागमतीको पहिलो जित

- केएफएम डेस्ककाठमाडौं

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेश विजयी भएका छन् । मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफलाई १ सय ८५ रनले पराजित गदै पुलिसले पहिलो जित हात पारेको छ ।

पुलिसले दिएको ३ सय ५६ रनको बलियो लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १ सय ७० रनमा अलआउट भयो । एपीएफका लागि नन्दन यादवले अविजित ४४ रन बनाए भने कमलसिंह ऐरीले ३५ रन जोडे । पुलिसका लागि ललित राजवंशीले १० ओभरमा २८ रन दिएर ३ विकेट लिए ।

त्यसअघि एपीएफले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३ सय ५५ रनको योगफल बनाएको थियो । यो पीएम कप इतिहासकै सर्वाधिक योगफल हो । यसअघि सन् २०१८ को पीएम कपमा एपिएफले नै मधेश प्रदेशविरुद्ध ३ सय ३९ रनको योगफल बनाएको थियो ।

एपीएफविरुद्ध पुलिसका चार ब्याटरले अर्धशतक बनाए । ओपनर दिनेश खरेलले ६०, शंकर रानाले ६१, कप्तान आरिफ शेखदे ५० र दिल्साद अलीले ५१ रनको अर्धशतक बनाए । एपीएफका कमलसिंह ऐरी र अमरसिंह राउटेलाले २–२ विकेट लिए । पुलिस पहिलो खेलमा आर्मीसँग पराजित भएको थियो भने एपीएफले बागमती प्रदेशलाई हराएको थियो । 

यसैबीच, मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा सम्पन्न अर्को खेलमा बागमति प्रदेशले गण्डकी प्रदेशलाई १ सय ७० रनले हराएको छ । २ सय ९५ रनको लक्ष्य पछ्याएको गण्डकी ३१ ओभर ५ बलमा १ सय २४ रनमा अलआउट भयो । गण्डकीका लागि अर्जुन कुमालले ७४ रन बनाए पनि अरु ब्याटरले राम्रो स्कोर जोड्न सकेनन् ।

बागमतीका रिजन ढकालले ३ विकेट लिए । त्यसअघि गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २ सय ९४ रन बनाउको थियो । उसका लागि इशान पाण्डेले ७१ रन बनाए भने आशुतोष घिरैयाले ५९ रनको योगदान गरे ।

गण्डकीका कमल परियारले २ विकेट हात पारे । बागमति पहिलो खेलमा एपीएफ क्लबसँग पराजित भएको थियो । गण्डकीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।