खेलकुद

राखेपलाई एन्फाको जवाफ

काठमाडौं

राष्ट्रिय खेलकुद परिषद्ले सोधेको स्पष्टीकरणको जवाफ दिँदै अखिल नेपाल फुटबल संघ एन्फाले आफूले कुनै कानुनी प्रावधान उल्लंघन नगरेको दाबी गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐनको प्रावधान उल्लंघन गरेको भन्दै परिषद्ले एन्फासँग स्पष्टीकरण मागेको थियो ।

एन्फाले आगामी शुक्रवारका लागि तय गरिएको साधारण सभा र निर्वाचन स्थगन गर्न नसकिने पुरानै अडान दोहो¥याएको छ । निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको एन्फाको भनाइ छ । एन्फाले निर्वाचनमा प्रतिनिधि पठाएर सहयोग गर्न परिषदुलाई आग्रह समेत गरेको छ । 

एन्फाले पछिल्लो पटक चैत ५ गते राखेपबाट प्राप्त पत्रको चैत ८ गते नै लिखित जवाफ दिँदै निर्वाचनसम्बन्धी विषयमा फिफा र एएफसीको निर्देशनबारे जानकारी गराइसकेको जनाएको छ । एन्फाले आफू फिफा र एएफसीमा आबद्ध स्वायत्त संस्था भएको दोहो¥याउँदै तेस्रो पक्षको हस्तक्षेप अस्वीकार्य हुने दावी गरेको छ । 

परिषद्ले गर्ने हस्तक्षेपबाट नेपाली फुटबल अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्धमा पर्न सक्ने चेतावनी एन्फाले दिएको छ । निर्वाचन स्थगन भएमा फिफा र एएफसीबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा अन्य सहयोग रोकिने दाबी गर्दै कुनै अप्रिय निर्णय नगर्न एन्फाले आग्रह गरेको हो ।