खेलकुद

पीएम कप क्रिकेटमा एपीएफ र बागमतीको जित

- केएफएम डेस्ककाठमाडौं

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले कोशी प्रदेशलाई रनले पराजित गरेको छ ।

एपिएफले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको कोशीलाई अन्तिम तीन बलमा ६ रन चाहिएको थियो । तर एपिएफका अमरसिंह रौटेलाको चौथो बलमा विपिन महतोलाई लोकेश बमले रनआउट गरे ।

पाँचौ बलमा ज्ञानेन्द्र श्रेष्ठ बोल्ड हुँदा कोशी अन्तिम बल खेल्नुअघि २ सय २० रनमा अलआउट भएपछि पहिलो जित निकाल्ने अवसरबाट बञ्चित भयो ।

कोशीका लागि अंकित सुवेदीले सर्वाधिक ७२ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन ।

एपिएफका अभिशेष गौतमले ४ विकेट लिए ।

त्यसअघि जनकपुस्थित रामजानकी बहुउदेश्यीय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको एपीएफले सुन्दीप जोराको ७२ रन र सुमित महर्जनको ५७ रनको मद्दतमा २ सय २५ रन जोडेको थियो । कोशीका सुजन थपलियाले ३ विकेट लिए ।

जितपछि एपिएफ ८ खेलबाट ९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । कोशी एक अंकसहित तालिकाको पुछारमा छ । 

अर्को समाचार

यसैबीच, वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ३५ रनले हराएको छ ।

बागमतीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको मधेश ३४ ओभर ३ बलमा १ सय ७३ रनमा अलआउट भयो ।

उसका लागि मयन यादवले सर्वाधिक ४० रन बनाए । बागमतीका प्रतिश जिसीले ५ विकेट लिए ।

त्यसअघि बागमतीले ४८ ओभर ४ बलमा २ सय ८ रन बनाएको थियो । बागतमीका उत्तम मगरको ४४ रन जोडे ।

मधेशका पवन सर्राफले ३ विकेट लिए । जितसँगै बागमती ८ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । मधेश भने सात खेलबाट नौ अंकसहित चौथो स्थानमा छ ।