प्रधानमन्त्री कप : दुई विभागीय टोलीको सहज जित
काठमाडौंत्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । वीरगञ्जमा भएको खेलमा कोशी प्रदेशलाई १ सय ८६ रनको फराकिलो अन्तरमा पराजित गर्दै आर्मीले आफूलाई अपराजित राखेको हो । बिनोद भण्डारीले बनाएको १ सय ८९ रनको मद्दतमा आर्मीले कोशी प्रदेश विरुद्ध ३ सय ६१ रन बनाएको थियो । उसका लागि भिम सार्कीले ८० र तृतराज दासले ३३ रन बनाए ।
जवाफि ब्याटिङ गरेको कोशी प्रदेश निर्धारित ओभरमा अल आउट हुँदै १ सय ७७ रनमा समेटियो । उसका लागि प्रभात राईले ३८ र सिवास बजगाइले ३७ रन बनाउनु बाहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । आजको खेलको नतिजा पछि आर्मी १५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने पराजित कोशी भने अंकविहीन रहँदै अन्तिममा छ ।
यसैबीच आजै भएको अर्को खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले मधेश प्रदेशमाथि ७४ रनको जित निकालेको छ । वीरगञ्जमा भएको खेलमा एपीएफले दिएको ३ सय ९१ रनको विशाल लक्ष्य पछ्याएको मधेश निर्धारित ओभरमा ८ विकेट गुुमाउँदै ३ सय १६ रनमा समेटिएपछि एपीएफले सहज जित निकालेको हो । मधेश विरुद्ध विशाल स्कोर जोड्ने क्रममा एपीएफका ओपनर आशिफ शेखले दोस्रो शतक सहित २ सय ८ रनको उत्कृष्ट इनिङ्स खेले । उनले १७ छक्का र १५ चौकाको सहयोगमा सो रन बनाएका हुन् ।
यस्तै रोहित पौडेलले ५५ तथा सन्दीप जोराले ५६ र लोकश बमले २१ रन बनाए । एपीएफले मात्र ५ विकेटको क्षतिमा पूरा ओभर खेल्दै विशाल स्कोर बनाएको हो । जवाफि ब्याटिङ गरेको मधेशका लागि मध्येक्रमका ब्याटर आदिल आलमले ८७, अरनिको यादवले ८६ र विशाल शुसलिङले ३९ रन बनाउनु बाहेक अन्यको प्रर्दशन सन्तोषजनक रहेन । एपीएफको जारी प्रतियोगितामा यो छैटौं जित हो । आजको खेलको नतिजापछि एपीएफ १२ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मधेश भने ९ अंक जोडेर पाँचौ स्थानमा छ ।