टी–२० आई च्यालेन्ज ट्रफी खेल्न नेपाली महिला क्रिकेट टोली रुवाण्डा प्रस्थान
काठमाडौंटी–२०आई च्यालेन्ज ट्रफी खेल्नका लागि नेपाली महिला क्रिकेट टोली रुवाण्डा गएको छ । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोली आज त्यस्तर्फ गएको हो । रुवाण्डामा पहिलो पटक आयोजना हुन लागेको सो प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु गरी पाँच टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिता डबल राउण्ड–रोबिन लिग ढाँचामा खेलाइनेछ र सबैभन्दा बढी अंक हासिल गर्ने टोली च्याम्पियन बन्नेछ । मुख्य प्रशिक्षक हर्षल पाठकको नेतृत्वमा लामो समय देखि तयारी गरिरहेको नेपाली टोली त्यसतर्फ गएको हो ।
टोलीमा पूजा महतो, विन्दु रावल, सम्झना खड्का, रुवि पोदार, कविता जोशी, रिया शर्मा, रोमा थापा, कविता कुँवर, सुमन विष्ट, अनु कडायत, मनिषा उपाध्याय, रुविना क्षेत्री र रचना चौधरी छन् ।
यसअघि नेपालले गत जनवरीमा आइसीसी महिला टी–२० विश्कपको ग्लोबल क्वालीफायर खेलेको थियो । सो छनोट प्रतियोगितामा नेपालले समूह चरणका चारमध्ये तीन खेल—थाइल्याण्ड, नेदरल्यान्ड्स र स्कटल्याण्डसँग—हार्दै प्रारम्भिक चरणमै बाहिरिएको थियो ।