पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजबाट सुरु
- काठमाडौंपीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगको १० औं संस्करण आजदेखि सुरु भएको छ ।
लिग अन्तर्गत महिलातर्फको खेलमा अहिले दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा जारी छ ।
महिलातर्फकै अर्को खेलमा नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब (१० बजे) भिड्ने छन् ।
पुरुषतर्फ आज हेल्प नेपाल क्लब र बुढानिलकण्ठ भलिबल क्लब (१२ बजे) तथा त्रिभुवन आर्मी क्लब र लुम्बिनीको खिल्ली युवा क्लब (४ बजे) बीच प्रतिस्पर्धा हुनेछ । सिंगल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणमा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल हुनेछन् । दुवैतर्फ लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल भलिबल संघले यस पटक पुरस्कार राशीमा पनि वृद्धि गरेको छ ।
लिगमा महिला र पुरुष दुवैतर्फका विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।