खेलकुद

लिग टुमा नेपाल कहाँ छ ? एकदिवसीय विश्वकपमा सम्भावना कति ?

- नविन कोइराला काठमाडौं

सन् २०२७ को एकदिवसीय विश्वकप नजिकिँदै गर्दा नेपालको यात्रा भने चुनौतीपूर्ण मोडमा पुगेको छ । विश्वकप लिग–२ का खेलमा भएको कमजोर प्रदर्शनसँगै टोलीको सम्भावनामाथि प्रश्न उठ्न थालेका छन् । अंक तालिकामा दबाबमा रहेको नेपालले अब कसरी पुनरागमन गर्छ भन्ने चासोका बीच आगामी खेल टोलीका लागि महत्वपूर्ण हुने देखिएको छ ।

सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन महत्वपूर्ण मानिएको क्रिकेट विश्वकप लिग–२ का खेलमा नेपालको स्थानबारे विभिन्न कोणबाट बहस हुन थालेका छन् । हालसम्म टोलीले गरेको प्रदर्शन प्रदर्शन सन्तोषजनक हुन नसकिरहेको अवस्थामा विश्वकपबाट टाढा हुनुपर्ने हो की भन्ने संशय देखिएको छ । चुनौतीपूर्ण स्थितिमा रहेको नेपाल लय समात्न संघर्षरत छ । हालसम्म खेलेका खेलहरुमा नेपालले केही महत्वपूर्ण जित हासिल गरे पनि समग्र नतिजा भने सन्तोषजनक बन्न सकेको छैन। नेपाली टोलीले जितभन्दा धेरै हारको सामना गर्नुपरेको छ । जसका कारण अंक तालिकामा नेपाल पुछारतर्फ धकेलिएको छ। यस्तो अवस्थाले आगामी खेलहरुमा टोलीमाथि थप दबाब बढाएको छ ।

लिग–२ को ढाँचाअनुसार शीर्ष चार टोलीले सिधै विश्वकप क्वालिफायरमा स्थान बनाउनेछन् भने बाँकी टोलीहरुले प्ले–अफ खेल्नुपर्ने प्रावधान छ । वर्तमान अवस्थालाई हेर्दा नेपाललाई शीर्ष चारमा पुग्न निकै कठिन देखिए पनि सम्भावना पूर्ण रूपमा समाप्त भने भइसकेको छैन। ८ देश सहभागी रहेकोे लिग टु समिकरणमा नेपालले हालसम्म खेलेका २३ खेल मध्ये १६ खेल गुमाएको छ भने ७ खेलमा मात्र विजयी भएको छ । ७ खेलमा विजयी हुँदा नेपालले अंक तालिकामा १६ अंक बनाएर सातौं स्थानमा छ र यस बीचमा नेपालले खेलको २ खेल भने नतिजा विहीन हुँदा अंक बाँडेको छ । ३६ वटा एक दिवसीय खेल हुने लिग टु समिकरणमा अब नेपालले १३ वटा खेल बाँकी छ ।

दबाबको स्थितिमा रहेको नेपालले अंक तालिकाको आगामी विश्वकपका लागि कम्तिमा चौथो स्थानमा रहनुपर्ने बाध्यता छ । तर शीर्ष चारभित्रको समीकरणको प्रतिस्पर्धामा नेपाल भन्दा अघि क्यानडा, नामिबिया र नेदरल्याण्ड्स छन् । शीर्ष स्थानमा रहेको अमेरिका भन्दा नेपाल २० अंकले पछाडि रहँदा क्यानडाको २४ खेलबाट २१ अंक छ भने नामिबियाले २८ खेलमा २२ अंक छ । यस्तै चौथो स्थानमा रहेको नेदरल्याण्ड्सको २४ खेलबाट २८ अंक छ ।

लिग टु समिकरणमा अहिले नेपाल, ओमना र युएइबीचको सिरिज भइरहे पनि आगामी सिरिज नेपालका लागि तुलनात्मक रुपमा कठिन हुने देखिन्छ । केहिदिन पछि हुने अर्को सिरिजमा शीर्ष स्थानमा अमेरिका र दोस्रो स्थानमा रहेको स्कटल्याण्डसँग खेल्नुपर्ने बाध्यता छ । नेपालले यहि मे १२ मा स्कटल्याण्ड विरुद्ध तथा मे १६ मा अमेरिकासँग कीर्तिपुरमा एकदिसीय सिरिज खेल्ने तय भएको छ । यस्तै मे १८ मा पुन स्कटल्याण्ड विरुद्ध र मे २२ मा अमेरिकासँग दोस्रो पटक एकदिवसीय सिरिज खेल्ने छ । लिग टुमा सन्तोषजनक प्रदर्शन गर्न नसकेको नेपालले जितेका ७ मध्ये ३ खेल मात्र घरेलु मैदानमा जितेको छ भने ३ खेल स्कटल्याण्ड र १ खेल अमेरिकामा जितेको थियो ।

बाँकी खेलहरु नेपालको लागि ‘गर या मर’को अबस्थामा छन् । हालसम्मका खेलहरु हेर्दा नेपाली टोली खासगरि ब्याटिङमा चल्न नसक्दा पराजित हुन पुगेको छ । सुरुवात राम्रो भए पनि मध्यक्रमले निरन्तरता दिन नसक्दा ठूला लक्ष्य बनाउने वा पछ्याउने क्रममा नेपाल अधिकांश खेलमा पराजित हुने गरेको देखिन्छ । त्यस्तै, बलिङतर्फ पनि निर्णायक क्षणहरुमा नियन्त्रण गुमाउँदा नेपाल विरुद्ध विपक्षी टोलीले सहज रुपमा खेल आफ्नो पक्षमा पार्ने गरेका छन्। लिग टुका खेलमा शीष चार भित्र पर्न नसकेको खण्डमा नेपालको विश्वकपयात्रा समाप्त हुँदैन, तर बाटो भने निकै कठिन बन्न सक्छ । यस्तो अवस्थामा नेपालले पहिलो चरणमा क्वालिफायर प्ले–अफ खेल्नुपर्नेछ । त्यहाँ राम्रो प्रदर्शन गर्दै शीर्ष स्थानमा पर्न सके मात्र नेपाल विश्वकपसम्म पुग्न सक्नेछ ।