मानसिक स्वास्थ्य समस्या बेलैमा सम्बोधन नभए अवस्था डरलाग्दो हुनसक्छ : डा. रिसब कोइराला

असार २, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 16 June 2020 | 2 Asar 2077

कोरोना महामारीका कारण मुलुकमा मानसिक स्वास्थ्य समस्या बढेकोमा चिन्ता र चासो व्यक्त गर्दै सरोकारवालाले समयमै ध्यान पुर्‍याउन सरकारको ध्यानाकषर्ण गराएका छन् । अहिले यसको शुरुवाती चरणमात्रै भएकाले अहिले नै सम्बोधन गर्न सकिए अवस्था बिकराल नहुने मनोचिकित्सक एवं मानसिक स्वास्थ्यका अनुसन्धाता डा. रिसब कोइरालाले बताउनुभयो । कोरोनाले भन्दा कयौं गुणा धेरै मानिसको ज्यान आत्महत्याबाट गएको तथ्याङ्कले डरलाग्दो अवस्थाको सङ्केत गरेको उहाँले बताउनुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै डा. कोइरालाले मानसिक स्वास्थ्यका बारेमा बढीभन्दा बढी जनचेतानामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । परिवारमा पनि यसबारे खुलेर कुरा गर्ने, आफूलाई परेको समस्याबारे अरुलाई सुनाउने गर्दा पनि यो केही कम हुन उहाँले बताउनुभयो । निराशा र तनावले आफ्नो दैनिकी नै प्रभावित पार्ने अवस्था आएको भए तत्काल मनोपरामर्श लिन उहाँले सुझाव दिनुभयो ।

नेपाली समाजमा मानसिक स्वास्थ्य समस्याका बारेमा अझै धेरै भ्रम कायमै रहेकाले पनि यसको निराकरण सजिलो नभएको उहाँले बताउनुभयो । पछिल्लो समय मुलुकमा बढेको आत्महत्या, घरेलु हिंसा, बलात्कार लगायतका घटनाको सम्बन्ध कुनै न कुनै रुपमा मानसिक स्वास्थ्यसँग जोडिने डा. कोइरालाले बताउनुभयो ।


प्रतिक्रिया