प्रधानमन्त्रीको सम्बोधनले झन् भ्रम फैलाउने कार्य गर्‍यो : प्रा.डा सुधांशु केसी

असार ५, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 19 June 2020 | 5 Asar 2077

जनतामा कोरोनाबारेको डर हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले यो सामान्य संक्रमण भएको बताए पनि त्यसको असर उल्टो हुनसक्ने जोखिम कलेजो रोग विशेषज्ञ प्राध्यापक डा. सुधांशु केसीले औंल्याउनु भएको छ । देशको कार्यकारी प्रमुखले भनेको कुरामा धेरैले विश्वास गर्ने भन्दै उहाँले कोरोना हाछ्यूँ गरेकै भरमा जित्न सकिने भन्ने सन्देश प्रवाह हुनु गलत भएको उल्लेख गर्नुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै डा. केसीले प्रधानमन्त्रीले हिजो राष्ट्रियसभाको बैठकमा दिनु भएको अभिव्यक्ति तथ्यभन्दा पर रहेको बताउनुभयो । कोरोना नियन्त्रण र रोकथाममा सरकारले अर्बौ खर्च गरिसकेको पृष्ठभूमिमा प्रधानमन्त्रीको सो अभिव्यक्ति आफैंमा तर्कसङ्गत नरहेको डा. केसीले बताउनुभयो । प्रधानमन्त्रीको टोलीमा विज्ञको कुनै कमी नरहेको भन्दै उहाँले सार्वजनिक अभिव्यक्ति दिनुअघि सल्लाह गर्न सुझाव दिनुभयो ।

नेपालमा कोरोनाका कारण मृत्यु भएको भनिएकाहरुमा अधिकांशको रिपोर्ट मृत्युपछि आएकाले कोरोनाकै कारण मृत्यु हुनेको संख्या कम छ भन्ने प्रधानमन्त्रीको दावी सत्य नजिक भएको डा. केसीले बताउनुभयो । कोरोनाले निधन भएको भनिएकाहरुको पोष्टमार्टम नभएकाले पनि खास के कारणले व्यक्तिको मृत्यु भएको हो भन्ने एकिन हुन अप्ठेरो परेको उहाँको भनाइ थियो ।


प्रतिक्रिया