नेकपाको असफलता मात्रै काँग्रेसको सफलता हैन :बद्री पाण्डे

मंसिर २३, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 8 December 2020 | 23 Mangsir 2077

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्रदी पाण्डेले झण्डै दुई तिहाईको नेकपाको असफलतामात्रै प्रमुख प्रतिपक्षीको सफलता भनेर चित्रण गर्न नहुने बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले सरकार असफल हुनु भनेको काँग्रेस सफल हुनु भन्ने बुझियो भने आगामी निर्वाचनमा पार्टीलाई शक्तिशाली तुल्याउन नसकिने बताउनुभयो । काँग्रेस आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका कारण बलियो वा कमजोर हुने उहाँको तर्क थियो ।

पछिल्लो समय गणतन्त्र विरोधीहरुको सल्बलाहटमा सरकारको कार्यशैली प्रमुख कारक भएपनि अन्य दलले समेत जनतामा व्यवस्थाप्रति आशा र भरोसा जगाउन नसकेको नेता पाण्डेले उल्लेख गर्नुभयो । हिन्दूत्वको नारा लगाउनेहरु सक्रिय भइरहेका बेला काँग्रेसले पनि मंसिर २९ मा देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गर्नु संयोग मात्रै भएको उहाँको कथन थियो । गत कार्तिककै बैठकमा पनि सरकारविरुद्ध सबै मोर्चाको प्रयोग गर्ने निर्णय काँग्रेसले गरेको जानकारी उहाँले दिनुभयो ।

१४ औं महाधिवेशनको सन्दर्भमा उहाँले फागुनमा हुन नसके जेठमा गर्नु उत्तम विकल्प हुने बताउनुभयो । तर, अन्तिम म्याद रहेको भदौमा महाधिवेशन गर्नु घातक हुने र सो समयमा हुन नसके पार्टीको बैधानिकतामाथि नै प्रश्न उठ्ने उहाँको भनाइ थियो । राजाको प्रत्यक्ष शासनकालमा प्रहरीको घेराको बीचमा महाधिवेशन गरेको काँग्रेसलाई अरु खाले प्रतिकूलताले खासै असर नगर्ने नेता पाण्डेले बताउनुभयो ।


प्रतिक्रिया