इतिहासको समीक्षा भावनामा बगेर हैन तथ्यमा आधारित हुनुपर्छ अनिमात्र पृथ्वीनारायण शाहका बारेमा सही विश्लेषण हुन्छ: सुजित मैनाली

पुस २८, २०७७ | काठमाडौं

The Headliners | Journalist Pawan | 12 January 2021 | 28 Poush 2077


इतिहास अध्येता एवं लेखक सुजित मैनालीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको विश्लेषणका लागि इतिहासको समीक्षा भावनामा बगेर नभइ तथ्यमा आधारित हुनुपर्ने बताउनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता भन्ने र उनी राष्ट्र निर्माता हैनन् भन्नेहरुले पनि तथ्यमा आधारित नभइ भावनामा बगेर मात्रै प्रशंसा वा आरोप लगाउने गरेको बताउनुभयो ।

ससना राज्यमा बाँडिएका मुलुकलाई विस्तार गर्नुपर्ने तत्कालीन आवश्यकताबोध गरेर नै पृथ्वीनारायण शाहले गोरखा राज्यको विस्तार गरेको मैनालीले बताउनुभयो । झण्डै ३ सय वर्षअघिको परिवेशमा गरिएका कामहरुको अहिलेको समयलाई आधार बनाएर गरिने विश्लेषण वस्तुपरक नहुने उहाँको तर्क थियो । जुन भूगोल र जनतालाई आज हामी नेपाल भन्छौं त्यसको आधार भनेको गोरखा राज्यको विस्तार वा नेपाल एकीकरण नै रहेको मैनालीले उल्लेख गर्नुभयो ।

इतिहासमाथिको बहस र समीक्षाले नयाँ तथ्यहरु उजागर गर्न मद्दत गर्ने भन्दै उहाँले पृथ्वीनारायण शाहको योगदानका बारेमा भएको चर्चा परिचर्चालाई पनि सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने उल्लेख गर्नुभयो । पृथ्वीनारायण शाहलाई केवल एक शाह वंशीय राजाका रुपमा व्याख्या गर्ने र शाह वंशका अलोकप्रिय पात्रलाई आधार बनाएर उहाँको योगदानको विवेचना हुन नसक्ने मैनालीले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया