अतिरिक्त शुल्क लिने मेडिकल कलेजहरुलाई प्राज्ञिक कारबाही गर्छौ : चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा गिरी

रेडियो कान्तिपुर संवाददाता

पुस १९, २०७८

The Headliners | Journalist Parbata | 03 January 2021 | 19 Poush 2078

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीले अतिरिक्त शुल्क लिने मेडिकल कलेजहरुलाई प्राज्ञिक कारबाही गर्ने बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै उपाध्यक्ष गिरीले आयोगको क्षेत्राधिकार अनुसार प्राज्ञिक कारबाही गर्ने बताउनु भएको हो । मेडिकल कलेजहरुले अतिरिक्त शुल्क लिएको विद्यार्थी र अभिभावकको गुनासो आएसंगै आयोगले पटक पटक पत्राचार गर्दा पनि बेवास्ता गरेको उहाँको भनाई थियो । विभिन्न बहानामा मेडिकल कलेजहरुले अतिरिक्त शुल्क उठाएको पुष्टि भएको उहाँले बताउनुभयो । काठमाण्डौंस्थित काठमाण्डौं मेडिकल कलेज, विराटनगरस्थित नोवेल मेडिकल कलेज र पोखरास्थित मणिपाल मेडिकल कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क असुलेको उहाँले बताउनुभयो । अतिरिक्त शुल्क लिएको गुनासोपछि आयोगले पत्राचार गरेपछि तीनवटै मेडिकल कलेजले स्पष्टिकरण बुझाएका हुन् । यता विद्यार्थीले भने कलेजहरुले बुझाएको स्पष्टिकरणप्रति विश्वस्त नरेहेको बताएका छन् । उनीहरुले मेडिकल कलेजहरुको ज्यादतीप्रति आयोग कडा रुपमा प्रस्तुत हुनुपर्ने उनीहरुको भनाई छ ।


प्रतिक्रिया