शुरुवाती मनोनयनलाई आधार मानेर सभापति देउवालाई गाली गर्नुको तुक छैन : डा. उद्धव प्याकुरेल, विश्लेषक

पुस २३, २०७८ | काठमाडौं

विश्लेषक डा. उद्धव प्याकुरेलले १४ औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले आफ्नो अधिकार प्रयोग गरेर केन्द्रीय सदस्यमा मनोनित गरेकाहरुको अनुहार हेरेर अहिले नै सो कदमको ब्याख्या र विश्लेषण गर्नु उचित नहुने टिप्पणी गर्नु भएको छ । मनोनयन गर्न अझैं धेरै बाँकी रहेको र सबै सकिएपछि मात्रै र त्यसमा अटाउने अनुहार हेरेर विश्लषेण गर्नु उचित हुने उहाँको तर्क छ ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले चुनाव हारेका व्यक्ति वा चुनावमा नउठेका व्यक्तिलाई केन्द्रीय समितिमा मनोनित गर्नै नहुने भन्ने समेत नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । गणेशमान सिंह चुनावी प्रकृयामा सामेल नभएपनि काँग्रेसको सर्वोच्च नेताको रुपमा रहनु भएको उदाहरण दिंदै विश्लषेक प्याकुरेलले रामचन्द्र पौडेलको मनोनयनलाई पनि त्यसरी नै बुझ्न आग्रह गर्नुभयो । सभापति देउवाले ४० प्रतिशत भन्दा बढी मत ल्याएका नेता शेखर कोइरालालाई विश्वासमा लिनैपर्ने बाध्यता रहेको पनि उहाँले सुनाउनुभयो ।


प्रतिक्रिया