साधन स्रोतको सीमितताले चाहेजस्तो उपलब्धि हासिल हुन सकेको छैन : मोहनप्रकाश चन्द, प्रमुख कार्यकारी अधिकृत, खाद्य व्यवस्था तथा व्यापार कम्पनी

जेष्ठ २०, २०७९

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले साधन स्रोतको सीमितताका कारण खाद्य सुरक्षाको सुनिश्चितता र उपभोग्य वस्तुको सर्वसुलभ र सहज आपूर्ति व्यवस्थामा सोचे अनुसारको प्रगति हासिल हुन नसकेको स्वीकार्नु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नका लागि सरकारले खुकुलो नीति अख्तियार गर्नुपर्ने बताउनुभयो । खाद्य संकटग्रस्त क्षेत्रमा उपभोग्य सामग्रीको उपलब्धता बढाउने काममा कम्पनीले ठूलै सफलता हात पारे पनि किसानका उत्पादनको खरीद, भण्डारन र बिक्रीका क्षेत्रमा धेरै नै काम बाँकी रहेको चन्दले उल्लेख गर्नुभयो ।

हाल मुख्य तीन शहर काठमाडौं, पोखरा र सुर्खेतमा अनलाइन मार्फत् पनि बिक्री शुरु गरिएको र अन्यत्र पनि आउटलेट बिस्तारसँगै अनलाइनबाटै व्यापार प्रवद्र्धन गर्ने पक्षमा आफू रहेको उहाँले बताउनुभयो । दरबन्दी अनुसारको कर्मचारी भर्ना गर्न पनि समय लागेकाले कम्पनीको सेवा प्रवाहमा चुस्तता आउन नसकेको भन्दै उहाँले छिट्टै नै देखिने र अनुभुत हुने काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।


प्रतिक्रिया