चोलेन्द्र शमशेरलाई न्यायालयमा फर्किन दिन हुन्न : ओमप्रकाश अर्याल

मंसिर २३, २०७९

अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पुनः न्यायालयमा फर्काउन नसकिने बताउनु भएको छ । संसद सचिवालयका महासचिवले पत्र लेख्दैमा उहाँको पद फुकुवा नहुने अर्यालले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै अधिवक्ता अर्यालले संसद नभएको र नयाँ साँसदहरुको कार्यकाल शुरु हुन बाँकी रहेको समयमा संसदका कर्मचारीले सार्वभौम संसदमा विचाराधीन रहेको विषयमा पत्र लेखेर स्पष्ट पार्न नसक्ने बताउनुभयो ।

न्यायपालिकाको गरिमा र साखमा आँच आउने काममा संलग्न भएका प्रधानन्यायाधीशमाथि महाअभियोग लागेकाले त्यसको किनारा नलागेसम्म उहाँ पदमा फर्किने सम्भावना नरहेको अर्यालको तर्क थियो । संविधानले नै महाअभियोगको अन्तिम छिनोफानो नभएसम्म पद निलम्बि हुने व्यवस्था गरेकाले संसद सचिवालयको कर्मचारीको पत्रले राणाको पद सक्रिय हुन नसक्ने उहाँले बताउनुभयो ।


प्रतिक्रिया