सिन्धुली डायरी

वैशाख ५, २०७८

१. राष्ट्रिय जनगणना २०७८ को कार्य सम्पादनलाई प्रभावकारी बनाउन सिन्धुलीको चार स्थानीय तहमा तीन महिनाका लागि ‘स्थानीय तह जनगणना कार्यालय’ स्थापना गरिएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नारासहित सुरु हुन लागेको १२ औं राष्ट्रिय जनगणना २०७८ को कार्य सम्पादन गर्न कमलामाई नगरपालिका, मरिण गाउँपालिका, गोलन्जोर गाउँपालिका र दूधौली नगरपालिकामा कार्यालय स्थापना गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । जनगणना अधिकारी तथा तथ्यांक कार्यालय प्रमुख टीकाप्रसाद नेपालले राष्ट्रिय जनगणनाका लागि आवश्यक पर्ने गणक तथा सुपर भाईजर छनोट गर्ने क्रममा रहेको बताउनुभयो । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार सिन्धुलीमा दुई लाख ९६ हजार १९२ जनसंख्या रहेको छ ।

२. मलसाप्रोले स्थानीय लोकल जातका कुखुरालाई धमाधम मार्न थालेपछि सिन्धुलीको गोलन्जोर गाउँपालिकाका किसान चिन्तित बनेका छन् । जंगली मलसाप्रो पल्केपछि हुलका हुल आएर लोकल कुखुराको चल्ला, माउ सबै मारेर लैजान थालेपछि कुखुरापालक किसानहरु निराश बनेका हुन् । स्थानीय शिक्षक लेखबहादुर बस्नेतका अनुसार मलसाप्रोले मारेकै कारण अहिले हिर्दिङ क्षेत्रमा लोकल कुखुराको नासिंदै गएको छ । मलसाप्रोले नयाँखर्क, तीनकन्या, नाकाझोली, खनियाँखर्क, लगायत स्थानमा लोकल कुखुरा सखाप पारेको छ । न्याउरी, वन ढाडे, स्यालबाट कुखुरालाई खतरा छँदैथियो, अब मलसाप्रो पल्केर हैरान बनाएको कुखुरापालक हिरा भुजेलले बताए । मलसाप्रो नियन्त्रणको तरिका किसानले सुझाउन सकेका छैनन् ।

३, भग्नावशेष अवस्थामा रहेको ऐतिहासिक सिन्धुलीगढीको रानी दरबारको पुनर्निर्माण सुरु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–३ सिन्धुलीगढी परिसरमा रहेको रानी दरबारको ४ करोड ३८ लाख ९९ हजार ५ सय २२ रुपैयाँको लागतमा पुनर्निर्माण थालिएको हो । कमलामाई नगरपालिका सिन्धुली र बागमती प्रदेश सरकार पर्यटन विकास आयोजनाले १६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी दरबारको निर्माणको काम थालेको हो । दरबारको पुनर्निर्माणको जिम्मा तुल्सी/एरिसा जेभी भक्तपुरले पाएको कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिनुभयो । पूर्व २ नम्बर क्षेत्रको प्रशासन सञ्चालन गर्ने अड्डाको रुपमा परिचित रानीदरबार तत्कालीन श्री ३ माहाराज जंग बहादुर राणाका भाई बम बहादुर राणाका छोरा बमवीर विक्रम राणाले निर्माण गरेका हुन् । २००४ सालमा राणा शासनको अन्त्यपछि राष्ट्रिय स्वामित्वमा ल्याइएको रानीदरबार २०२० सालमा जिल्ला सदरमुकाम सिन्धुलीमाढी झारिएपछि संरक्षणको अभावमा भग्नावशेष बन्दै गएको हो ।

४. सुनकोशी गाउँपालिकाको मुलकोटस्थित दुई घुम्ती उकालो पार गर्ने क्रममा सडकको भत्ताभरि ऐना देखिन्छ । काठमाडौंतर्फ जाँदा रिठ्ठे भीरको तेर्सो सडकबाट भित्तामा रहेका ऐनामा सबैजसोका आँखा पर्ने गर्दछ । यी ऐनाहरुको अन्तरकथा छुट्टैछ । वीपी राजमार्ग निर्माणका क्रममा ट्रयाक सडकमा ठूल्ठूला दुर्घटना भए । २०६८ सालको सुरु र दशैं लगत्तै रिठ्ठे भीरमा दुई ठूला दुर्घट्ना भएका थिए । त्यसपछि दुर्घटना नहोस् भनेर कामना गरी सेतीदेवीको आराधना गरेर ऐना चढाएपछि त्यस क्षेत्रमा हालसम्म कुनैपनि दुर्घटना भएको छैन । सो क्षेत्रमा अहिले २० हजारको हाराहारीमा भित्तामा ऐना टाँगिएका छन् । दुर्घटनालाई टार्न भन्दै यातायात व्यवसायी, चालक, यात्रु तथा अन्यले सेतीदेवीको नाममा ऐना चढाउन थालेका हुन् । सडकको भित्ता रहेको सेती देवीको मन्दिरमा चढाइएको ऐनाले झण्डै आधा किलोमिटर क्षेत्रफलको भित्तो ओगटिसकेको छ । सुनकोशी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष दाहालले रिठ्ठे भीरमा ऐनाको लहर हुनुको मुख्य ध्येय दुर्घटना टार्नु नै भएको सुनाउनुभयो । 


प्रतिक्रिया