सर्लाही डायरी

श्रावण १२, २०७९

साउनको दोस्रो साता बित्न लागे पनि वर्षा नहुँदा सर्लाहीका किसानले रोपाइँ गर्नै पाएका छैनन् । पछिल्लो एक महिनायता वर्षा नहुँदा आकाशे पानीको भर परेका किसानको खेत बाँझै छ । थोरै मात्रामा सिंचाई उपलब्ध रहेको क्षेत्रमा पानी पटाउन किसानको मारामार छ । धान रोपिसकको खेत पनि पानी अभावले धाँजा फाटेको छ । धानले गाँज हाल्ने बेलामा पहेलो हुँदै सुक्न थालेको हो । वर्षा नहुँदा किसानले लगाएको बीउ पनि बुढो भएर सुक्न थालेको छ । असारको पहिलो सातापछि जिल्लामा पानी परेको छैन । पानी नभएकै कारण रोपाइँ गर्न नपाएको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्र मलंगवाले वर्षा नहुँदा आकाशे पानीको भरमा हुँदै आएको खेत बाँझै रहेको तथा सिंचित क्षेत्रमा पनि पूर्णरुपमा रोपाइँ हुन नसकेको जनाएको छ । ढिला भइरहेको धान रोपाइँको असर उत्पादनमा पर्ने कार्यालयका प्रमुख कमलदेव महतोले बताउनुभयो ।

वर्षा नहुँदा चर्को गर्मीले सर्लाहीसहित तराइ मधेसको जनजीवन कष्टकर बनेको छ । गर्मीका कारण सर्वसाधारण अपरान्ह घरबाट निस्कन पाएका छैनन् । सहनै नसक्ने गर्मीले चोक बजार सुनसान हुनथालेको छ । लामो समयदेखि पानी नपर्दा सर्वसाधारण उखरमाउलो गर्मी खेप्न बाध्य छन् । दिनभरीको टन्टलापुर घामले बाहिर निस्कने अवस्था नहुने तथा रातीको उखरमाउलो गर्मीले निदाउन पनि गार्‍हो पर्ने गरेको स्थानीय बताउँछन् । उनीहरुका अनुसार पंखा चलिरहँदा समेत खलखल पसिना आउने गरेका छन् । अत्याधिक गर्मीले सरकारी कार्यालयहरुमा सेवाग्राहीको चाप घटाएको छ । गर्मीका कारण अस्पतालहरुमा बिरामीको चाप बढेको छ । चिकित्सकहरुले पर्याप्त मात्रामा पानी पिउन तथा सकभर गर्मीमा घर बाहिर ननिस्कन सल्लाह दिरहेका छन् ।

लागु औषधको ट्रान्जिट प्वाइन्ट रहेको सर्लाहीमा प्रहरीले निगरानी बढाएपछि धमाधम कारोवारी पक्राउ पर्न थालेका छन् । खुला सीमा तथा सुरक्षामा लापारवाहीले लागु औषधको ट्रान्जिट बनेको सर्लाहीमा पछिल्लो समय प्रहरी पनि संलग्न देखिएको हो । सर्लाहीमा दस दिन यता लागु औषध सहित एक प्रहरी हवल्दारसहित पाँच कारोवारी पक्राउ परेका छन् । लागु औषधको कारोबारमा पाहाडी जिल्लाबाटसमेत ट्रान्जिट प्वाइन्ट बनाएर कारोबार गरिरहेको पाइएको छ । उनीहरु खुला सीमाको फाइदा उठाउँदै भारतबाट लागु औषध खरिद गरी पाहाडी क्षेत्रमा लगेर बेच्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी नायव उपरीक्षक विजय यादवले प्रहरीको निगरानी बढेपछि कारोबारीहरु धमाधम पक्राउ पर्न थालेको बताउनुभयो । उहाँले लागु औषधको कारोबारमा एक प्रहरी हवल्दार पनि संलग्न रहेको जानकारी दिनुभयो ।

सर्लाहीमा प्रशोधित पिउने पानी गुणस्तरहीन रहेको खुलेको छ । जिल्ला प्रशासन कार्यालयमै एक कार्यक्रमका लागि ल्याइएको पानीको बोतलमा सेतो लेदो भेटिएपछि पानीको गुणस्तरको पोल खुलेको हो । सदरमुकाम मलंगवा–९ मा उत्पादन गरिएको जोया वाटर इन्डष्ट्रिजले उत्पादन गरेको मिनरल वाटरको बोतलभित्र सेतो लेदो भेटिएको हो । सो कम्पनीको एक बोतलमा सेतो लेदो र अर्को बोलतको पानीको रङ कालो देखिएपछि तत्कालै पानीको गुणस्तर परीक्षणका लागि ल्याबमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो । केहि दिन अघि मात्र दक्षिणी क्षेत्रमा उत्पादित एक पानीको बोतलमा धमिलो पानी भेटिएको थियो । सर्लाहीमा उत्पादित अन्य पीउने पानीको गुणस्तर कमजोर रहेको स्थानीयको गुनासो छ । तर पानीको अनुगमन हुन नसकेको स्थानीय बताउँछन् ।



प्रतिक्रिया