सुनसरी डायरी

मंसिर २३, २०७९ | सुनसरी

सुनसरीको सर्दु जलाधार क्षेक्र अतित्रमण प्रकरणमा जोडिएकाहरुसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो पटक बयान लिएको छ । सर्दु जलाधार प्रकरणको अनुसन्धान गर्न अख्तियारको केन्द्रीय र इटहरीस्थित कार्यलयको टोलीले जलाधार प्रकरणमा जोडिएका भूमाफिया, बिचौलिया र सहयोग पुर्‍याएको आशंकामा जनप्रतिनिधि र कर्मचारीसँग बयान लिएको हो । धरानको खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्र संरक्षण गर्न झण्डै ४ दशकअघि नै सट्टाभर्ना दिएर स्थानान्तरण गरेपनि लगत कट्टा नहुँदा जलाधारको जग्गा व्यक्तिकै नाममा रहेको थियो । सरकारले २०३४ सालदेखि २०३८ सालसम्म ३ सय ४८ बिघा जलाधार क्षेत्रको जग्गाको सट्टामा मोरङको वयरवन क्षेत्रमा मुआब्जा दिएर स्थानान्तरण गरेको थियो । सट्टाभर्ना दिए पनि जलाधारमा भएको व्यक्तिको नामको जग्गामा लगत कट्टा नगरिँदा तिनै जग्गाधनीलाई अघि सारेर भूमाफियाले कब्जा र किनबेच गरेका थिए ।

यही मंसिर ४ मा सम्पन्न चुनावको अन्तिम नतिजालाई लिएर जिल्लाका राजनीतिक दलहरु समीक्षामा जुटेका छन् । ढिलो गरी चुनावी नतिजा सार्वजनिक भएको सुनसरीमा समानुपातिकको अन्तिम नतिजा आएसँगै राजनीतिक दलहरुले वडा तहदेखि नै समीक्षा बैठक राख्ने र कमी कमजोरी औंल्याउन थालेका हुन् । अघिल्लो निर्वाचनमा देशभरमा २३ सिट जित्दा सुनसरीमा मात्रै ३ सिट जितेको कांग्रेस यसपालिको निर्वाचनमा १ सिटमा खुम्चिदा एमाले सहितको गठबन्धनको वर्चश्व छ । २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा तीन क्षेत्रमा निर्वाचित कांग्रेस यस पटकको निर्वाचनमा एक सिटमा खुम्चिएपछि यसको समीक्षा सुरु भएको हो ।

सुनसरी प्रहरीले जिल्ला प्रहरी कार्यलयमा बालमैत्री कक्षको स्थापना गरी सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको साथमा आउने बालबालिका तथा विभिन्न बेवारिसे अवस्थामा फेला परेका बालबालिकाकको मनोरञ्जन तथा स्तनपानको लागि महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा बालमैत्री कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको हो । त्यस्ता बालबालिकालाई समय कटाउन तथा शिक्षामा प्रेरणा जगाउने उद्देश्यले बालमैत्री कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीकप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौ संस्करण सुनसरीमा हुने भएको छ । प्रतियोगिता आगामी पुष २९ गतेदेखि इटहरी–९ स्थित क्रिकेट मैदानमा हुने भएको हो । प्रतियोगिताको लागि मैदान मर्मत सम्भार तथा अन्य प्राविधिक कामको तयारी सुरु गरिएको सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजना तथा सुनसरी जिल्ला क्रिकेट संघको सहआयोजनामा हुन लागेको प्रतियोगितामा एक विभागीय टोली र ७ प्रादेशिक टोलीको सहभागिता रहनेछ ।


प्रतिक्रिया