रुपन्देही डायरी

पुस १९, २०७९ | तिलोत्तोमा

 अत्याधिक जाडो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाभित्रका विद्यालय ६ दिन बिदा दिइएको छ । जाडोमा बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै पुस १९ देखि २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको हो । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले सोमबार एक सूचना प्रकाशित गर्दै यही पुस २४ गतेसम्म विद्यालय बन्द गर्ने जानकारी दिनुभयो । जाडो बढेकाले बर्खे बिदाबाट कट्टी हुने गरी ६ दिन विद्यालयहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले दर्ता नभएका इ–रिक्सा सञ्चालनमा रोक लगाएको छ । बुटवलमा यसअघि दर्ता भएका १ हजार २ सय ५६ वटा इ–रिक्सा मात्रै चल्न पाउने छन् । विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका इ–रिक्सा सञ्चालनमा रोक लगाइएको हो । दर्ता नगरी सञ्चालन भएका ई रिक्साका कारण दुर्घटना बढेको, अवैध गतिविधि भएको र दर्ता नभएका इ–रिक्सा पहिचानमा समस्या भएपछि सञ्चालनमा रोक लगाइएको उपमहमनगरपालिका प्रमुख खेलराज पाण्डेले बताउनुभयो । यसअघि उपमहानगरले तयार पारेको कार्यविधि अनुसार थप १ सय ८४ इ–रिक्सा दर्ता गर्न बाँकी रहेको र त्यस्ता इ–रिक्सा दर्ता गर्दा स्वरोजगार, स्थानीय, महिला र सवारी चालक अनुमतिपत्र भएकालाई प्राथमिकता दिने उल्लेख छ ।

छाडा कुकुरको बढ्दो संख्या न्यूनिकरणका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बन्ध्याकरण सुरु गरिएको छ । नगरपालिका र युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चरको एबीसी कार्यक्रम अन्तर्गतको आर्थिक सहयोगमा जिल्ला पशु सेवा कार्यालयले कुकुर आतंक नियन्त्रणका लागि ८० भाले कुकुरलाई भ्यासेक्टोमी र पोथीलाई मिनिल्याप गरेको हो । छाडा कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी हो हल्ला हुने, सवारी दुर्घटना बढ्ने र रेबिज रोगको संक्रमण हुने खतरा भएकाले बन्ध्याकरण कार्यक्रम सुरु गरिएको पशुसेवा कार्यालयक प्रमुख राजु कुँवर मगरले जानकारी दिनुभयो ।

सिद्धार्थनगर नगरपालिका क्षेत्र अन्तर्गत विद्युतीय पोलमा रहेका तार व्यवस्थित गर्न माग गरिएको छ । अव्यवस्थित रुपमा पोलमा झुण्डिएका तारहरुका कारण दुर्घटनाको जोखिम बढेकाले व्यवस्थित गर्नुपर्ने सिद्धार्थनगर नगरपालिका–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले बताउनुभयो । सम्भावित दुर्घटनाबाट जोगिन अव्यवस्थित तार हटाउनुपर्ने उहाँले बताउनुभयो । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीका प्रवेशद्वार भैरहवा शहरको सुन्दरीकरणमा समेत यसले असर गरेको वडा अध्यक्ष पोखरेलको भनाइ छ ।

लुम्बिनी विकास कोषका पदाधिकारीले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटको अवलोकन तथा अनुगमन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराईसहितको टोलीले प्राचीन तिलौराकोट दरबार, सगरहवा र सिसहनियाको स्थलगत अवलोकन गरेको हो । सो अवसरमा विश्व सम्पदा सूचीकृतको तयारीमा रहेको तिलौराकोटको व्यवस्थापन, सिसहनियाको संरक्षण एंव सगरहवालाई बौद्धकालिन पार्कका रुपमा विकास गर्न प्रस्तर राष्ट्रिय कार्यशालामा जुटन पदाधिकारीले निर्देशन दिएका छन् । कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बौद्धकालिन सभ्यताका प्रशस्त अवशेष कपिलवस्तुमा रहेकाले उत्खनन, संरक्षण र विकासका लागि कोषले क्रमश काम गर्दै अघि बढ्ने बताउनुभयो ।


प्रतिक्रिया