धनगढी डायरी

माघ १, २०७९ | धनगढी

नागरिक उन्मुक्ति पार्टीले सभामुखको निर्वाचनमा मतदान नगरेपछि दोस्रो पटक पनि सुदूरपश्चिम प्रदेशले सभामुख पाउन सकेन । पहिलो पटक भएको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार भिमबहादुर भण्डारीले २६ मत र कांग्रेसका मानसिंह रावले २३ मत प्राप्त गर्नु भएको थियो । ५३ सदस्यीय प्रदेश सभामा निर्वाचित हुनका लागि २७ मत आवश्यक हुन्छ । पहिलो निर्वाचनमा एमालेका चक्रमल्ल र उन्मुक्ति पार्टीका राजकिशोर चौधरीले मतदान गरेनन् भने एक मत वदर भएकाले सभामुख निर्वाचित हुन आवश्यक वहुमत पुगेको थिएन । दोस्रोपटक हिजो सांझ ६ बजे भएको मतदानमा नागरिक उन्मुक्ति पार्टीका सात जनाले मतदानमा भाग नलिएपछि माओवादी केन्द्रका भण्डारी र कांग्रेसका रावलले समान २२ मत प्राप्त गरेका थिए । प्रदेश सभा सचिवालयका अनुसार माघ २ गते तेस्रो पटक सभामुख निर्वाचनको मिति तोकिएको छ । सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादीका ११ , एमालेका १० , समाजवादीका ४ , नागरिक उन्मुक्ति पार्टीका७ , राप्रपाका १ र स्वतन्त्र १ गरि ५३ सदस्य रहेका छन ।

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तीर्थस्थल गोदावरीमा वाहृराशी मकर मेला सुरु भएको छ । प्रदेश प्रमुख देवराज जोशीले माघे संक्रान्तिका दिन एक कार्यक्रमका बिच मकर मेलाकुम्भको उद्घाटन गर्नु भएको हो । हरेक बर्ष माघ संक्रान्तिमा लाग्ने वाहृ राशी मकर मेलामा पहिलो दिन ४० हजार भन्दा बढी श्रद्धालुले गोदावरी नदीमा स्नान गरेका छन् । मूल आयोजक समितिका संयोजक संस्कृतिविद पदमराज जोशीले यो मेला १२ दिन सम्म चल्ने जानकारी दिनुभयो । मेलामा गोदावरी नदीमा स्नानका साथै १२ दिन सम्म आफ्नो राशी अनुसारको पूजाअर्चना र जप , सामुहिकव्रतवन्ध , विवाह , ज्ञान यज्ञ आदि गर्ने गरिन्छ ।

निर्माण सुरु भएको ५ बर्ष वितिसक्दा पनि सेती प्रादेशीक अस्पतालको ओपीडी भवननिर्माण सम्पन्न हुन सकेको छैन । ५ बर्षअघि १८ करोड लागतमा ठेक्का सम्झौता भएको अस्पतालको मातृशिशु र ओपीडी भवन निर्माण कम्पनी र सरकारी निकायको लापरवाहीका कारण निर्माण सम्पन्न हुन नसकेको हो । शहरी विकास तथा भवन निर्माण विभागले २०७४ मा रविना थेगम जेभि कम्पनीलाई निर्माण जिम्मा दिएको सो भवन दुई बर्षमा निर्माण सम्पन्न हुनुपर्ने थियो । अस्पतालका अध्यक्ष नरबहादुर शाहले भवन निर्माण हुन नसक्दा निक्कै समस्या भएको बताउनुभयो । सेती प्रादेशिक अस्पताल प्रदेशको एक मात्र सुविधा सम्पन्न अस्पताल हो ।

दैनिक आधा दर्जन भन्दा बढी लागु औषध सेवनकर्ता पक्राउ पर्न थालेपछि कैलाली र कंचनपुरका कारागार भरिन थालेका छन् । पछिल्ला ६ महिनामा कैलाली र कंचनपुरका कारागारमा लागु औषध मुद्दामा पक्राउ परेका तीन सय बढी युवा छन् । कैलाली कारागारका अनुसार कारागारमा रहेका ६ सय २५ कैदीवन्दीमध्ये १ सय ५३ जना लागु औषध मुद्दाका रहेका छन् । यसैगरी कंचनपुरमा पनि १ सय १८ जना लागु औषध मुद्दाका कैदीवन्दी छन् । दैनिकजसो आधा दर्जन बढी पक्राउ पर्छन् कैलाली कारागारका सुरक्षा प्रमुख सइ वासु अवस्थीले कारागारमा रहेका मध्ये अधिकांस १८ बर्ष देखि ४० बर्ष उमेर समुहका युवा छन् । 


प्रतिक्रिया