पूर्वी नवलपरासी डायरी

माघ १२, २०७९

ठेकेदारको लापरबाहीले नारायणगढ–बुटवल सडकखण्ड बिस्तारको कामले तीब्रता पाउन सकेको छैन । सडक बिस्तारको जिम्मा पाएको चिनियाँ ठेकेदारले नवलपरासी खण्डको ४२ किलोमिटर सडक क्षेत्रमा दुई वटा मात्रै डोजरबाट काम गरिरहेको छ । राजमार्गको डन्डादेखि पश्चिम दाउन्नेसम्मको ४२ किमि खण्डमा जम्मा दुई वटा डोजर र ६ जना कामदार राखेर काम गरिरहेको हो । २०७३ मा राममार्ग ठेक्का लिंदा चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले काम सुरु गरेको ३ वर्षभित्र निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता थियो । काम थालेको ४२ महिनामा जम्मा २३ प्रतिशत मात्र काम सकिएको चिनियाँ ठेकेदार कम्पनीका इन्जिनियर राकेश झाले बताउनुभयो । रुख कटान र विद्युतका पोल सार्न पर्ने सरकारी प्रक्रिया लामो र झन्झटिलो भएकाले केही ढिलाइ भएको उहाँको दाबी छ ।

पूर्वी नवलपरासीमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ९ प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ । संघ र प्रदेश सरकारबाट चालू आर्थिक वर्षका लागि प्राप्त कुल बजेट अन्र्तगत पूँजीगत तर्फ ९ प्रतिशत र चालूतर्फ ४८ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका प्रमुख कोष नियन्त्रक राम बहादुर केसीले बताउनुभयो । नवलपुरका लागि चालू आर्थिक वर्षमा संघीय सरकारबाट चालूतर्फ ६ अर्ब ९ करोड १६ लाख र पूँजीगत तर्फ ४ अर्ब ७५ करोड ६४ लाख बजेट प्राप्त भएको थियो । चालूतर्फ ३ अर्ब १० करोड २५ लाख खर्च भएको छ । संघीय सरकारबाट चालूतर्फ प्राप्त २७ करोड ६० लाख खर्च भएको कोष तथा लेखा नियन्त्रक केसीले बताउनुभयो । गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेट अन्र्तगत चालूतर्फ २३ प्रतिशत र पूँजीगत तर्फ १८ प्रतिशत बजेट खर्च भएको छ ।

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको केन्द्रीय अध्यक्षमा गोकुल पराजुली निर्वाचित हुनु भएको छ । पराजुलीले राम श्रेष्ठ राय यादवलाई पराजित गर्नु भएको हो । पराजुलीले २ सय १२ मत र रायले १ सय ८१ मत प्राप्त गर्नु भएको थियो । २५ जनाको केन्द्रीय समिति रहेको आयुर्वेद समाजको वरिष्ठ उपाध्यक्षमा महेश थापा, महिला उपाध्यक्ष सबिता निरौला श्रेष्ठ, गैरसरकारी तर्फको उपाध्यक्षमा यमलाल भट्टराई विजयी हुनु भएको छ । त्यसैगरी महासचिवमा नवीन किरण भुसाल निर्वाचित भएका हुन् ।

मध्यबिन्दु नगरपालिका–२ सेहरी नजिकै नारायणी नदीको भंगालोमा दुई वटा गैंडा मारेको अवस्थामा भेटिएको छ । गैंडा मारिएको स्थानमा विद्युतीय तार समेत फेला परेकाले करेन्ट लगाएर मारिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयको अनुमान छ । गत शुक्रबार मृत भेटिएका एउटा गैंडाको खाग समेत चोरी भएका कारण चोरी सिकारी समूहले मारेको हुनसक्ने प्रहरीको भनाई छ । सानो गैंडाको खाग सुरक्षित छ । घटना बारे चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धान गरिरहेको जनाएको छ । राष्ट्रिय निकुञ्ज क्षेत्र आसपासमा यसअघि पनि खाग तस्करीका लागि तस्करहरुले गैंडा मार्ने गरेका थिए ।


प्रतिक्रिया