सप्तरी डायरी

माघ १३, २०७९ | सप्तरी

सप्तरीको सुरुङगा नगरपालिका–७ मा वडा कार्यालयको बालविवाह अन्त्यका लागि पहल थालेको छ । बालविवाह अन्त्यका लागि वडा नम्बर–७ को कार्यालयले सूचना प्रकाशित गरी विवाह पूर्व जन्मदर्ता वडा कार्यालयमा पेश गरी स्वीकृती लिनुपर्ने जनाएको छ । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न नपाउने साथै बालविवाह गर्ने/गराउने कार्यमा संलग्न हुने जन्ती, पुरोहित समेतलाई कारवाही हुने वडाध्यक्ष शिवनारायण चौधरीले बताउनुभयो । विवाहको निमन्त्रणा पत्र छपाउँदा बेहुला बेहुलीको जन्म मिति अनिवार्य उल्लेख गर्नुपर्ने सूचनामा उल्लेख छ । सप्तरीको सुरुङगा नगरपालिका मधेश प्रदेशमै वालविवाह मुक्त पहिलो पालिका भएको हो । गत मंसिर १४ गते सो नगरपालिकालाई वालविवाह मुक्त नगरपालिका घोषणा गरिएको थियो ।

नेपाली भूमिमा नेपाल सरकारका अधिकारी, ठेकेदार र प्राविधिकलाई काम गर्न भारतीय सुरक्षाकर्मीले पछिल्लो एक वर्षदेखि रोक लगाएको छ । राजविराज–कुनौली सडकखण्ड अन्तर्गत तिलाठी कोईलाडी–१ स्थित भन्सार कार्यालयको अगाडि जिता नदीको कटानबाट सडकलाई जोगाउन जाली क्रेटिङ गर्ने काममा भारतीय सुरक्षाकर्मीले रोक लगाएको हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका इन्जिनियर संजयकुमार ठाकुरले बताउनुभयो । राजविराजदेखि कुनौलीसम्म ११ किलोमिटरको सो सडक हाल निर्माणाधिन अवस्थामा छ । सो सडकको दक्षिण तर्फ जिता नदी बगिरहेको र नदीको दक्षिणमा भारतीय भूीम रहेको छ ।

जिल्लाको कञ्चनरुप नगरपालिकाले पालिका भित्रका कृषकलाई वितरण गरिएको अनुदानको गहुँको बीउ अपेक्षा अनुसार नउम्रेको कृषकहरुले गुनासो गरेका छन् । अनुदानको गहुँको बीउ राम्रो भनेर प्रयोग गर्दा ५० प्रतिशत पनि नउम्रेको कृषकहरुको गुनासो छ । कञ्चनरुप नगरपालिकाले केही समयअघि ५० प्रतिशत अनुदानमा कृषकहरुलाई गहुँको बीउ वितरण गरेको थियो । नगरपालिकाका कृष्िा शाखा प्रमुख बेचन सढोक यादवले भने अनुदानमा वितरण गरिएको गहुँको बीउ नउम्रेको बारे कुनै कृषकले गुनासो नगरेको बताउनुभयो ।

लामो समयदेखि लिलामी प्रक्रिया नहुँदा राजविराज भन्सार कार्यालयमा थन्काएर राखिएका सवारी साधन जीर्ण बन्दै गएको छ । भन्सार छली गरेर भित्र्याएको आरोपमा विभिन्न समयमा नियन्त्रणमा लिइएका चार पांग्रे गाडी, ट्रयाक्टर र मोटरसाइकल लगायत सवारी साधनहरु जीर्ण बन्दै गएको हो । भन्सार कार्याल्यमा अहिले लिलामी हुन नसकेका करीब ३ सय थान सवारी साधन छन् । २ सय ५० वटा मोटरसाइकल र चार पांग्रे तथा ट्रयाक्टर गरी ५० वटा सवारी साधन लिलामीको पर्खाइमा छन् ।

 


प्रतिक्रिया